नेपालमा पछिल्ला केही महिनायता बर्डफ्लु (एच–फाइभ एन–वान) को सङ्क्रमण तीव्र रूपमा फैलिनु कृषि तथा जनस्वास्थ्य दुवैका लागि गम्भीर चिन्ताको विषय बनेको छ । मोरङबाट शुरु भएको सङ् क्रमण अहिले ११ जिल्लाका ८२ स्थानसम्म फैलिनुले रोग नियन्त्रण प्रणालीमाथि प्रश्न उठाएको छ ।
सरकारका अनुसार पाँच लाखभन्दा बढी पक्षी नष्ट गरिएका छन् भने लाखौँ अण्डा र ठूलो परिमाणमा दाना पनि नष्ट गरिएको छ । यसबाट किसानले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ भने पोल्ट्री उद्योगसमेत प्रभावित बनेको छ । नेपालको पोल्ट्री व्यवसाय लाखौँ किसानको आय आर्जनको प्रमुख स्रोत हो । यस्तो अवस्थामा बर्डफ्लुको तीव्र विस्तारले उत्पादन, बजार र उपभोक्ता विश्वासमा नकारात्मक असर पारेको छ । सङ्क्रमण फैलिएका क्षेत्रमा कुखुरा तथा अण्डाको बिक्री घट्ने, ढुवानीमा समस्या आउने र किसानको लगानी जोखिममा पर्ने अवस्था सिर्जना भएको छ । सरकारले सङ्क्रमित पक्षी नष्ट गर्ने नीति अपनाए पनि क्षतिपूर्ति वितरणमा ढिलाइ वा अपर्याप्त सहयोग भए किसान थप समस्यामा पर्न सक्छन् । केही महिनामै मुलुकको अधिकांश जिल्लामा बर्डफ्लु संक्रमण फैलिएको छ ।
जसले गर्दा सरकारी तयारी फितलो रहेको संकेत पनि गरेको छ । रोग फैलिन थालेपछि नियन्त्रण कक्ष स्थापना गर्नु, प्राविधिक टोली परिचालन गर्नु तथा विभिन्न तहका सरकारसँग समन्वय गर्नु सकारात्मक कदम भए पनि संक्रमण ११ जिल्लासम्म फैलिनु प्रारम्भिक निगरानी र रोकथाम पर्याप्त प्रभावकारी हुन नसकेको देखिन्छ । महामारी व्यवस्थापनमा रोग पहिचान, शीघ्र परीक्षण, समयमै सूचना प्रवाह र जैविक सुरक्षा मापदण्डको कडाइपूर्वक कार्यान्वयन अत्यन्त आवश्यक हुन्छ । पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार सङ्क्रमण नियन्त्रणका क्रममा हालसम्म पाँच लाख ६९ हजार ८५८ वटा पक्षी नष्ट गरिएको छ ।
त्यस्तै नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक हजार ९५४ दशमलव ८५ क्विन्टल दाना पनि नष्ट गरिएको उनले जानकारी दिए । विभागका अनुसार हालसम्म मधेश प्रदेशको महोत्तरी, बारा, कोशी प्रदेशका झापा, मोरङ र सुनसर ीसँगै, बागमती प्रदेशको काठमाण्डु, ललितपुर, भक्तपुर, काभ्रपलाञ्चोक, चितवन र लुम्बिनी प्रदेशको नवलपर ासीमा सङ्क्रमण नियन्त्रणमा आइसकेको छ । तर काठमाण्डु, ललितपुर, भक्तपुर तथा काभ्रेपलाञ्चोकका केही क्षेत्रमा सङ्क्रमण अझै देखिइरहेकाले विशेष निगरानी बढाइएको महानिर्देशक डा. दाहालले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासंगको सहकार्यमा भाइरसको जिन अनुक्रमण (जिनोम सिक्वेन्सिङ) शुरु गर्नु अर्को महत्वपूर्ण पक्ष हो । यसबाट भाइरसमा कुनै आनुवंशिक परिवर्तन -म्युटेसन) भएको छ वा छैन भन्ने थाहा पाइनेछ। यदि भाइरसमा परिवर्तन भएको पुष्टि भयो भने त्यसअनुसार नियन्त्रण रणनीति र निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउन सकिनेछ ।
विश्वका विभिन्न देशमा एच–फाइभ एन–वान भाइरसका कारण मानव स्वास्थ्यमा समेत जोखिम देखिएकाले नेपालले पनि यस विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ । विभागले किसानलाई जैविक सुरक्षा मापदण्ड अपनाउन, पुराना अण्डाका क्रेट पुनःप्रयोग नगर्न, सवार ीसाधन निसङ्क्रमण गरेर मात्र फार्ममा प्रवेश गराउन तथा जंगली पन्छीसँग घरपालुवा पन्छीको सम्पर्क रोक्न दिएको सुझाव वैज्ञानिक रूपमा उपयुक्त छन् । तर यस्ता निर्देशन व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गराउन स्थानीय सरकार, पशु स्वास्थ्य प्राविधिक र किसानबीच निरन्तर समन्वय आवश्यक हुन्छ । साना किसानमा चेतनाको अभाव, सीमित स्रोत र कमजोर अनुगमनका कारण धेरैजसो फार्ममा जैविक सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना नहुने समस्या अझै कायम छ ।
यसका साथै उपभोक्तामा पनि अनावश्यक त्रास फैलिन नदिन सही सूचना प्रवाह आवश्यक छ । राम्रोसंग पकाइएको कुखुराको मासु र अण्डा सामान्य अवस्थामा सुरक्षित मानिन्छ । त्यसैले अफवाहभन्दा आधिकारिक सूचनामा विश्वास गर्नु र रोग देखिएका क्षेत्रमा स्वास्थ्य तथा पशुसेवा निकायका निर्देशन पालना गर्नु सबैको दायित्व हो । बर्डफ्लुको बढ्दो सङ्क्रमण केवल पशुपालन क्षेत्रको समस्या नभइ खाद्य सुरक्षा, जनस्वास्थ्य, किसानको जीविकोपार्जन र राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको विषय हो । त्यसैले संघ, प्रदेश र स्थानीय सरकारले संयुक्त रूपमा प्रभावकारी निगरानी, समयमै परीक्षण, पर्याप्त क्षतिपूर्ति, किसानलाई प्राविधिक सहयोग तथा जैविक सुरक्षा मापदण्डको कडाइका साथ कार्यान्वयन गर्न सके मात्र संक्रमण नियन्त्रण गर्न सकिनेछ। दीर्घकालीन रूपमा आधुनिक पोल्ट्री व्यवस्थापन, नियमित निगरानी र जनचेतना अभिवृद्धिमा जोड दिनु नै यस्ता महामारीबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय हुन्छ ।

