भारत सरकारले देशभर सञ्चालन गर्न लागिएको अंगदान जनचेतना अभियानलाई प्रभावकारी बनाउन अखिल विश्व गायत्री परिवारको सहयोग लिएको छ ।
देवसंस्कृति विश्वविद्यालय, शान्तिकुञ्जमा आयोजित ‘दधीचि अंगदान संकल्प अभियान’ विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै भारतका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाले अंगदानलाई मानव सेवाको सर्वोच्च कार्य भएको बताएका छन् । उनले अंगदानबाट धेरै बिरामीले नयाँ जीवन पाउने उल्लेख गर्दै भारतका २६ राज्यमा अंगदान अभियान सञ्चालन गरिने जानकारी दिएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको स्वास्थ्य सेवा क्षेत्रमा ऐतिहासिक सुधार भएको उल्लेख गर्दै स्वास्थ्य सेवालाई अझ सहज, प्रभावकारी र नागरिकमैत्री बनाउने दिशामा सरकार निरन्तर लागिरहेको बताए ।
नड्डाले अंगदान वैज्ञानिक तथा आध्यात्मिक दुवै दृष्टिकोणबाट महत्वपूर्ण रहेको धारणा राखेका छन् । कार्यक्रमको उद्घाटन दीप प्रज्वलनबाट गरिएको थियो। देशव्यापी अंगदान जनचेतना अभियानलाई व्यापक बनाउन केन्द्र सरकारले अखिल विश्व गायत्री परिवारसँग सहकार्य गरेको हो। युवा नेतृत्वकर्ता डा. चिन्मय पण्ड् याको नेतृत्वमा गायत्री परिवारले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, नशामुक्ति, व्यक्तित्व विकास तथा सामाजिक चेतना अभिवृद्धिजस्ता अभियान सञ्चालन गर्दै आएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सनातन परम्परा त्याग, सेवा, समर्पण र परोपकारको महान् जीवनदर्शन भएको बताए । उनले महर्षि दधीचिले देवताका लागि आफ्नै अस्थिदान गरेको तथा राजा शिविले चराको रक्षा गर्न आफ्नै शरीरको मासु दान गरेको प्रसंग उल्लेख गर्दै भारतीय संस्कृतिमा परोपकारका लागि आफ्नो सर्वस्व अर्पण गर्नु सर्वोच्च धर्म मानिएको बताएका थिए । गोष्ठीको अध्यक्षता गर्दै देवसंस्कृति विश्वविद्यालयका प्रतिकुलपति डा. चिन्मय पण्ड् याले यज्ञ भारतीय संस्कृतिको मेरुदण्ड भएको बताए ।
उनका अनुसार यज्ञ केवल धार्मिक अनुष्ठान नभई जीवनलाई संस्कारित गर्ने वैज्ञानिक तथा आध्यात्मिक परम्परा हो। जन्मपूर्वका संस्कारदेखि जीवनको अन्तिम यात्रासम्म यज्ञको विशेष महत्व रहेको उल्लेख गर्दै उनले यज्ञले व्यक्ति, परिवार र समाजबीच समन्वय, त्याग, सहयोग, कर्तव्यबोध तथा लोककल्याणको भावना विकास गर्ने बताएका थिए । उनले यज्ञको वास्तविक उद्देश्य केवल अग्निमा आहुति दिनु नभई आफ्ना उत्कृष्ट विचार, समय, श्रम र स्रोतलाई समाज तथा राष्ट्रहितमा समर्पित गर्नु पनि भएको स्पष्ट पारेका थिए ।
कार्यक्रममा उत्तराखण्डका विपद् व्यवस्थापन मन्त्री मदन कौशिक, रामकृष्ण मिशनका सचिव स्वामी दयामूत्र्यानन्द, डा. अनिल कुमारलगायत विशेषज्ञहरूले अंगदानका वैज्ञानिक, कानुनी तथा सामाजिक पक्षबारे धारणा राखेका थिए । शान्तिकुञ्जका आचार्यहरूले वैदिक मन्त्रोच्चारणसहित देशका विभिन्न राज्यबाट आएका सहभागीलाई अंगदानको संकल्प गराएका थिए । कार्यक्रममा हजारौँ सहभागीले अंगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सो अवसरमा राज्यमन्त्री ओमप्रकाश जमदग्नि, प्रो. मीनू सिंह, पद्मश्री नीलेश माण्डलेवाला, डा. विजय धस्माना, वरिष्ठ प्रशासनिक अधिकारी, चिकित्सक, सञ्चारकर्मी तथा देशभरबाट आएका साधकहरूको उल्लेखनीय उपस्थिति रहेको थयो ।

