२०८३ असार १५, सोमबार ०६:३९

विगत वर्षको तुलनामा यसपटक मधेश प्रदेशमा किसानहरु हर्षित भएका छन् । विगतको तुलनामा यसवर्ष समयमै पानी परेकाले धान रोपाइँका लागि किसानहरु हर्षित छन् ।

यससंगै मधेश प्रदेशका अधिकांश जिल्लामा धान रोपाइँले तीव्रता पाएको छ । विगतका वर्षमा वर्षा अभावका कारण ढिलो रोपाइँ गर्न बाध्य भएका किसान यस वर्ष असारको सुरुआतदेखि नै खेतमा व्यस्त छन् । समयमै पर्याप्त पानी परेकाले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ । धनुषाको धनुषाधाम नगरपालिका–४ का किसान श्याम यादवले यस वर्ष तीन बिघा जग्गामा धान रोपिसकेको र केही दिनमै सम्पूर्ण रोपाइँ सकिने बताए । उनका अनुसार अघिल्ला वर्षमा साउन–भदौतिर मात्र पर्याप्त वर्षा हुँदा समयमै रोपाइँ गर्न कठिन भएको थियो । त्यस्तै, शहीदनगर नगरपालिका–६ का किसान रामकिसुन साहले पनि अघिल्ला वर्षहरूमा वर्षाको अभावका कारण केही खेत बाँझै राख्नुपरेको स्मरण गर्दै यस वर्ष असारको दोस्रो सातासम्म अधिकांश खेतमा धान रोपिसकेको जानकारी दिए ।

लामो समयसम्म पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भए पनि पछिल्ला दिनमा निरन्तर पानी परेपछि किसान खेतमा व्यस्त छन् । कतै ब्याड निकालिँदै छ त कतै धान रोप्ने काम भइरहेको छ । असार लागेसँगै मधेश प्रदेशमा धमाधम रोपाइँ भइरहेका छन् । लामो खडेरीपछि लगातार वर्षा हुन थालेसँगै खेत तयारी, ब्याड उखेल्ने र रोपाइँको काम एकैपटक भइरहेको छ । धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लाका किसानले रोपाइँमा व्यस्त छन् ।

मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार असार दोस्रो सातासम्ममा मधेश प्रदेशमा कुल क्षेत्रफलको ४ दशमलव ३६ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । सबैभन्दा बढी महोत्तरीमा ८ दशमलव १७ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ भने सबैभन्दा कम पर्सा र रौतहटमा शून्य प्रतिशत धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ । जिल्लागत हिसाबले महोत्तरीमा ४० हजार हेक्टर खेतीयोग्ग जग्गामध्ये तीन हजार २६६ हेक्टरमा धान रोपाइँ भएको मन्त्रालयका सूचना अधिकारी अजय ज्ञवालीले जानकारी दिए ।

सप्तरीमा ६८ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार ४०० हेक्टर, बारामा ४५ हजार १०० हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार २५० हेक्टर, धनुषामा ४३ हजार ७०० हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार ५९ हेक्टर, सिरहामा ५४ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये दुई हजार ७०० हेक्टर र सर्लाहीमा ४२ हजार ६९५ हेक्टर खेतीयोग्य जग्गामध्ये एक हजार ३६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको सूचना अधिकारी ज्ञवालीले बताए । कृषि प्राविधिकका अनुसार असार महिनाभित्र धान रोपाइँ सम्पन्न गर्न सके उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । पर्याप्त चिस्यान भएपछि खेत तयारी, बीउ उखेल्ने र रोपाइँको काम एकै साथ भइरहेको छ ।

यसवर्ष किसानले उन्नत जातका धानका बीउ प्रयोगसँगै रासायनिक तथा प्राङ्गारिक मलको उचित व्यवस्थापनमा ध्यान दिएका छन् । यद्यपि केही स्थानमा मलको उपलब्धता र सिँचाइ पूर्वाधार अझै चुनौतीका रूपमा रहेको धनुषाका किसान रामउद् गार महतो बताउँछन् । धान नेपालको प्रमुख खाद्यान्न बालीमध्ये एक हो । मधेश प्रदेश देशकै प्रमुख धान उत्पादन क्षेत्र भएकाले यहाँको उत्पादनले राष्ट्रिय खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने गरेको छ ।

समयमै पर्याप्त वर्षा भई रोपाइँ सम्पन्न भए उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ । यसैबीच किसान धमाधम रोपाइँमा व्यस्त हुँदा मधेश प्रदेश सरकारले प्रदेशका स्थानीय तहलाई वर्षे धानबालीलाई लक्षित बफर रासायनिक मलको बाँडफाँट गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुसार रासायनिक मल युरिया र डिएपी कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङलाई वितरणका लागि स्थानीय तहअनुसार बाँडफाँट गरेको हो । प्रदेशको आठवटै जिल्लाको १३६ वटै स्थानीय तहका लागि सात हजार ३२८ मेट्रिकटन युरिया र छ हजार ६१० मेट्रिकटन डिएपी मल बाँडफाँड गरिएको मन्त्रालयका सूचना अधिकारी ज्ञवालीले बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाए अनुसार सप्तरीको स्थानीय तहका लागि ९७५ मेट्रिकटन युरिया र एक हजार ३५ मेट्रिकटन डिएपी, सिरहाका लागि एक हजार ७२ मेट्रिकटन युरिया र एक हजार १३७ मेट्रिकटन डिएपी, धनुषाका लागि ९२६ मेट्रिकटन युरिया र ७७८ मेट्रिकटन डिएपी, महोत्तरीका लागि ८८० मेट्रिकटन युरिया र ७४० मेट्रिक टन डिएपी छुट्टयाएको छ । त्यस्तै सर्लाहीका लागि एक हजार ९३ मेट्रिकटन युरिया र ९१९ मेट्रिकटन डिएपी, रौतहटका लागि ८७५ मेट्रिकटन युरिया र ७३६ मेट्रिकटन डिएपी, बाराका लागि ८१९ मेट्रिकटन युरिया र ६८९ मेट्रिक टन डिएपी र पर्साका लागि ६८७ मेट्रिक टन युरिया र ५७८ मेट्रिकटन डिएपी बाँडफाँट गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News