२०८३ असार १५, सोमबार ०६:२८

बाराको निजगढ नगरपालिका–२ सिंगौलस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत अतिक्रमण गरिएको वन क्षेत्रको जग्गामा बनाइएको घरटहरा हटाइएको छ । प्राप्त जानकारी अनुसार अतिक्रमित २१.००२४ हेक्टर (करिब ३१.५० बिघा) राष्ट्रिय वन क्षेत्र खाली गराउने अभियानअन्तर्गत शनिबार ११ वटा घरटहरा हटाइएको हो ।

डिभिजन वन कार्यालय, बाराले जारी गरेको सातदिने सूचनाको म्याद सकिएको चार दिनपछि गत असार ८ गते अतिक्रमित क्षेत्रमा लगाइएको केराखेती हटाएको थियो । त्यसको निरन्तरतास्वरूप शनिबार एक्साभेटर प्रयोग गरी घरटहरा भत्काएर वन क्षेत्र पुनः खाली गराइएको हो । कार्यालयले २०८३ जेठ २९ गते अतिक्रमण हटाउन सार्वजनिक सूचना जारी गरेको थियो । कारबाहीअघि प्रभावित परिवारलाई घरभित्र रहेका सामान तथा जस्तापाता, टायल, झ्याल, ढोकालगायतका सामग्री सुरक्षित स्थानमा सार्न समय दिइएको वन कार्यालयले जनाएको छ ।

घरटहरा हटाइएका परिवारहरूले आफूहरू वन फँडानी गरेर नभई विभिन्न व्यक्ति तथा विद्यालयमार्फत जग्गा खरिद गरी बसेको दाबी गरेका छन् । उनीहरूले खरिदसम्बन्धी लिखत आफूसँग रहेको बताउँदै आफूहरू भूमाफियाबाट ठगिएको र अहिले विस्थापित हुनुपरेको गुनासो गरेका छन् । पीडितहरूले वन क्षेत्रको जग्गा बिक्री गर्ने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्न, आफूहरूले तिरेको रकम साँवा–ब्याजसहित फिर्ता गराउन तथा सुरक्षित र स्थायी आवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

उनीहरूका अनुसार भूमाफियाले ‘काठको घर बनाए वन कार्यालयले हटाउँछ, पक्की घर बनाए हटाउन सक्दैन’ भन्दै उक्साएपछि कतिपयले जस्तापाताको छानासहित पक्की संरचना निर्माण गरेका थिए । तर वन कार्यालयले ती संरचना पनि हटाएपछि अधिकांश परिवार अहिले भाडा वा आफन्तको आश्रयमा बस्न बाध्य भएका छन् । डिभिजन वन कार्यालयका अनुसार हालसम्म प्राप्त आठवटा लिखतका आधारमा वन क्षेत्रभित्रको १२ कट्ठा चार धुर जग्गा विभिन्न नाममा ३७ लाख ६८ हजार रुपैयाँमा बिक्री गरिएको खुलेको छ ।

यस घटनामा संलग्न भूमाफियामाथि थप अनुसन्धान र कानुनी कारबाहीको माग स्थानीयले गरेका छन् । डिभिजन वन कार्यालय, बाराका वन अधिकृत तथा वन अतिक्रमण नियन्त्रण अधिकारी ललन राउतका अनुसार बारा जिल्ला अदालतले गत वर्ष वन ऐन, २०७६ को दफा ५०(३) तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३१ बमोजिम गरेको फैसला अनुसार अतिक्रमित वन क्षेत्रमा बनेका घरटहरा हटाइएको हो । निजगढ सबडिभिजन वन कार्यालय भमराकी प्रमुख शर्मिला नेपालका अनुसार २१.००२४ हेक्टरमध्ये करिब १३.००२४ हेक्टर क्षेत्रमा गत वर्ष काँडेतार लगाई विभिन्न प्रजातिका बिरुवा रोपिसकिएको छ ।

यसपटक खाली गराइएको करिब आठ हेक्टर क्षेत्रमा काँडेतार लगाई जामुन, टीकलगायतका करिब आठ हजार बिरुवा रोप्ने योजना रहेको छ । वन क्षेत्र आबादी गराएको आरोपमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो । अनुसन्धानपछि डिभिजन वन कार्यालय, बाराले तत्कालीन वन उपभोक्ता समूहका अध्यक्ष सिद्धबहादुर थापासहित ५२ जनाविरुद्ध मिसिल तयार गरी सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

तीमध्ये ३५ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । अदालतले सिद्धबहादुर थापा, झलकबहादुर राई, पदमबहादुर भुजेल, सुशील थापा, जगतबहादुर दर्लामी र गंगामाया राउतलाई जनही ५० हजार रुपैयाँ तथा नरबहादुर क्षेत्री, मनकुमार थापा, श्यामबहादुर घिसिङलगायतलाई जनही ७५ हजार रुपैयाँका दरले गरी कुल पाँच लाख २५ हजार रुपैयाँ जरिवाना गरेको थियो । अन्य १६ जनाले भने सफाइ पाएका थिए ।

डिभिजन वन कार्यालय, बाराका प्रमुख सुजितकुमार झाले अदालतको स्पष्ट आदेशअनुसार अतिक्रमित वन क्षेत्र खाली गराई वृक्षारोपणको काम अघि बढाइएको बताएका छन् । विभिन्न बहानामा आदेश कार्यान्वयनमा ढिलाइ गर्नु अदालतको आदेशको अवहेलना हुने भएकाले अभियानलाई निरन्तरता दिइएको उनको भनाई छ ।

Comment


Related News

Latest News

Trending News