२०८३ असार १६, मंगलवार ०७:३८

देशभर २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सोमबार विभिन्न औपचारिक कार्यक्रमका साथ सम्पन्न भएको छ । स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार तथा विभिन्न गैरसरकारी एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सांसद, जनप्रतिनिधि, कर्मचारी र विभिन्न राजनीतिक दलका नेताहरूको सहभागितामा धान रोपाइँ कार्यक्रम आयोजना गरेका छन् ।

सहभागीहरूले खेतमा धान रोप्दै दही–च्युरा, आँपलगायत परम्परागत परिकारको स्वाद लिँदै धान दिवस मनाएका छन् । यद्यपि उत्सवमय वातावरणका बीच किसानका मुख्य समस्या भने ओझेलमा परेका छन् । विशेषगरी धानबालीका लागि अत्यावश्यक रासायनिक मलको अभावबारे अधिकांश कार्यक्रममा गम्भीरताका साथ लिइएको देखिएन भने यसबारे छलफलसमेत गरिएन । किसानहरूले प्रत्येक वर्ष धान रोपाइँको समयमा मल अभावका कारण उत्पादनमा असर पर्ने समस्या दोहोरिँदै आएको गुनासो गर्दै आएका छन् ।

धान नेपालको मुख्य खाद्यान्न बाली हो । धान रोपाइँको सुरुवाती चरणमै आवश्यक मात्रामा युरिया, डीएपी र पोटास उपलब्ध नभए उत्पादनमा प्रत्यक्ष असर पर्ने कृषि विज्ञहरू बताउँछन् । समयमै मल नपाउँदा धानको बोटको वृद्धि कमजोर हुने, उत्पादन घट्ने र खेतीको लागत बढ्ने समस्या किसानले भोग्दै आएका छन् ।

विगतका वर्षहरूमा सरकारी वितरण प्रणाली प्रभावकारी हुन नसकेपछि नेपाल–भारततर्फको सीमावर्ती क्षेत्रका किसानहरूले भारतबाट अनौपचारिक रूपमा महँगो मूल्यमा मल ल्याएर खेती धानेका उदाहरण प्रशस्तै छन् । तर यस वर्ष भने यस्तो विकल्प पनि सहज देखिएको छैन । मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीच बढेको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला प्रभावित हुने देखिन्छ । सो द्वन्द्वका कारण ढुवानी लागत बढ्ने तथा रासायनिक मलको उपलब्धतामा असर पर्ने सम्भावना देखिएको छ ।

यसले नेपालमा मल आयातमा थप चुनौती सिर्जना गर्न सक्ने सरोकारवालाहरू बताउँछन् । नेपालले प्रयोग गर्ने अधिकांश रासायनिक मल विदेशबाट आयात गर्नुपर्ने भएकाले अन्तर्र ाष्ट्रिय बजारमा हुने उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली किसानमा पर्ने गरेको छ । समयमा खरिद प्रक्रिया पूरा हुन नसक्नु, आपूर्ति व्यवस्थापन कमजोर हुनु तथा वितरण प्रणाली प्रभावकारी नहुनुले समस्या झन् जटिल बन्दै गएको छ ।

यस वर्ष मल अभावसँगै जलवायु परिवर्तन पनि धान खेतीका लागि अर्को ठूलो चुनौती बनेको छ । असार लाग्दासमेत कतिपय क्षेत्रमा पर्याप्त वर्षा हुन नसक्दा रोपाइँ ढिलो भएको छ भने केही स्थानमा छोटो अवधिमै अत्यधिक वर्षा हुँदा खेत डुबानमा परेका छन् । मौसमको अनियमितताले खेतीपातीको परम्परागत तालिका नै प्रभावित हुन थालेको किसानहरूको अनुभव छ ।

जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि, अनियमित मनसुन, खडेरी र बाढीको जोखिम बढ्दै जाँदा धान उत्पादनमा दीर्घकालीन असर पर्ने कृषि क्षेत्रका जानकारहरूको भनाइ छ । समयमै मल उपलब्ध नहुने र मौसम पनि अनिश्चित रहने अवस्थाले खाध सुरक्षा तथा किसानको आयमा समेत नकारात्मक प्रभाव पर्ने देखिएको छ । कृषि क्षेत्रका सरोकारवालाले धान दिवसलाई केवल औपचारिक उत्सवमा सीमित नगरी किसानका वास्तविक समस्याको समाधानतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

उनीहरूका अनुसार मलको समयमै आपूर्ति, सिँचाइ पूर्वाधारको विस्तार, जलवायु अनुकूल कृषि प्रविधिको विकास, उन्नत तथा जलवायु सहनशील बीउको प्रयोग र प्रभावकारी कृषि नीतिबिना धान उत्पादन वृद्धि गर्ने लक्ष्य पूरा हुन कठिन रहेको देखिन्छ । धान दिवसले कृषि क्षेत्रको महत्व स्मरण गराउने अवसर प्रदान गरे पनि किसानलाई आवश्यक पर्ने मल, बीउ, सिँचाइ र बजार व्यवस्थापनजस्ता आधारभूत विषय प्राथमिकतामा नपरेसम्म यस्ता कार्यक्रम औपचारिकतामै सीमित हुने किसानहरूको गुनासो छ ।

उनीहरू सरकारले उत्सवभन्दा बढी किसानका वास्तविक आवश्यकतामा ध्यान दिई समयमै मल उपलब्ध गराउने, जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण गर्ने तथा कृषि उत्पादन सुरक्षित बनाउने ठोस नीति र कार्ययोजना कार्यान्वयन गर्नुपर्ने माग गर्छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पर्ने दिगम्बरपुरका किसान रामउद्गार महतोले धान रोपाइँ जसोतसो गरिए पनि धान वालीका लागि आवश्यक पर्ने मल खाधका बारेमा जनप्रतिनिधिदेखि सांसद र नेताहरुसमेत गम्भीर नदेखिदाँ रसायनिक मलकै अभाव हुने टिप्पणी गरे ।

प्रत्येक वर्ष मल खाधको अभावका कारण खेतमा धान रोपाइँ हुँदा पनि मल खाधको समस्या हामीले प्रत्येक वर्ष भोग्दै आएको किसान महतोले स्मरण गरे । तर यसपटक पनि जनप्रतिनिधिहरुले समेत धान खेतमा आएर नाटक मञ्चन गर्नु दुःखद भएको उनको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News