सिरहामा एक होटेलमा उपभोक्तालाई सिल प्याक गरिएको बोतल दिँदा सो बोतलभित्र छेपारो भेटिएको छ ।
सिरहाको लहानस्थित न्यू भान्जा होटलमा बिक्रीका लागि राखिएको ऋषि जल नामक सिल प्याक पानीको बोतलभित्र छेपारो भेटिएको छ । पानीको बोतलमै छेपारो भेटिएपछि ‘ऋषि जल’ नामक प्रशोधित पानी उत्पादन गर्ने केबी एण्ड सन्स नेपाल कम्पनीलाई इलाका प्रशासन कार्यालय लहानले दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
इलाका प्रशासन कार्यालयले जनाए अनुसार गत असार १० गते लहान नगरपालिका– ३ मा रहेको न्यू भान्जा होटलमा उक्त कम्पनीले वितरण गरेको पानीको बोतलभित्र छेपारो देखिएको थियो । सो विषयमा उपभोक्ताबाट फोनमार्फत गुनासो गरेपछि कार्यालयबाट टोली खटाएर तत्काल अनुगमन गरेको थियो ।
सो अनुगमनका क्रममा कम्पनीले अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको र मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको पाइएको थियो । प्रशासनले कम्पनीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरेको छ । उक्त कम्पनीको पानीबारे अन्य गुनासा समेत प्राप्त भइरहेको भन्दै स्थानीय प्रशासनले कम्पनी सञ्चालकलाई कार्यालयमै बोलाएर सचेतसमेत गराएको जनाएको छ ।
प्रशासनले बजारमा पठाइएका ती खराब ब्याचका ‘ऋषि जल’ नामक पानीका सम्पूर्ण बोतल तत्काल बजारबाट फिर्ता लिन सञ्चालकलाई निर्देशन दिएको बताइन्छ ।
आगामी दिनमा यस्ता गल्ती दोहोरिएमा कानुन बमोजिम थप कडा कारबाही हुने चेतावनी समेत दिइएको बताइएको छ । मानव स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको पिउने पानीमै यस्तो चरम लापरबाही भेटिएपछि प्रशासनले आम उपभोक्तालाई सचेत रहन अपिलसमेत गरेको छ ।
कुनै पनि उपभोग्य वस्तु खरिद तथा उपभोग गर्दा सचेतता अपनाउन र वस्तुमा कुनै त्रुटि वा खराबी देखिएमा तत्काल जानकारी गराउनका लागि स्थानीय प्रशासनले आग्रह गरेको छ ।

