२०८३ असार १७, बुधबार ०६:५६

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा साधारण तारेखमा रिहा भएको छ । राजस्व चुहावटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले साधारण तारेखमा राखेर रिहा गर्न आदेश दिएको हो ।

विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मंगलबार थापालाई साधारण तारेखमा राख्न आदेश दिएको हो । थापाले बुधबार नै अदालतमा उपस्थित हुन निवेदन दिएका थिए ।

थुनछेक बहसपछि अदालतले उनलाई थुनामा नराखी साधारण तारेखमा राख्ने आदेश दिएको हो । ‘भरत ताल’ निर्माणका क्रममा भएको ५८ करोड ६२ लाख रुपैयाँ बराबरको राजस्व चुहावटसम्बन्धी भ्रष्टाचार मुद्दामा अदालतले थापालाई थुनामा नराखी मुद्दाको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० माघ २८ गते तत्कालीन मेयर भरत थापा, उपमेयर लिलाकुमारी मोक्तानसहित १३ जनाविरुद्ध राजस्व चुहावटसम्बन्धी भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको थियो ।

अख्तियारका अनुसार सागरनाथ वन विकास परियोजनाअन्तर्गत पर्ने क्षेत्रमा बागमती माछा पोखरी -भरत ताल) निर्माणका क्रममा सात करोड ३८ लाख ९३ हजार क्यूफिट वन पैदावार कानुनविपरीत उत्खनन तथा बिक्री गरी ५८ करोड ६२ लाख १४ हजार ६५८ रुपैयाँ राजस्व चुहावट गरिएको थियो । उक्त मुद्दामा तत्कालीन मेयर भरत थापा मुख्य प्रतिवादी छन् ।

मुद्दामा सागरनाथ वन विकास परियोजनाका तत्कालीन प्रमुख विशाल घिमिरे, देवेशमणि त्रिपाठी, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेललगायत १३ जनालाई प्रतिवादी बनाइएको छ ।

Comment


Related News

Latest News

Trending News