मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी ओम प्रसाद अधिकारीले प्रहरी आचरण बिपरित कार्य गर्ने लाई कडा कार्यवाहीको चेतावनी दिएका छन्।
डिआईजी अधिकारीले मंगलवार जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय बाराको निरीक्षण गर्दै उच्च व्यावसायिक निष्ठाका साथ जिम्मेवारी निर्वाह गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका हुन्।
मधेश प्रदेश प्रमुखको जिम्मेवारी सम्भाले पछी पहिलो पटक रौतहट पछी बारा पुगेका डिआईजी अधिकारीले जिल्ला प्रहरी कार्यालय रौतहट, बाराको भवन, विभिन्न शाखा, क्वार्टर गार्ड, ब्यारेक तथा मेसको अवस्थाबारे अवलोकन गरेका थिए। त्यसपछि आयोजित निर्देशन कार्यक्रममा उनले मातहतका प्रहरी अधिकृत तथा कर्मचारीलाई देश र नागरिकको हितलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न आग्रह गरेका थिए।
उनले लागुऔषध नियन्त्रण, अवैध चोरी–पैठारी नियन्त्रण, शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखी असल आचरण, आपसी सद्भाव र सामूहिक भावनाका साथ कर्तव्य सम्पादन गर्न निर्देशन दिएका थिए।
डिआईजी अधिकारीले संगठनले निर्धारण गरेको मिडिया नीति विपरीत सामाजिक सञ्जालको दुरुपयोग नगर्न, गैरव्यावसायिक आर्थिक लाभका गतिविधिमा संलग्न नहुन तथा प्रहरी आचरणविपरीतका कुनै पनि कार्य नगर्न सचेत गराएका थिए।
उनले बल प्रयोगको अवस्था आए मानव अधिकारको पूर्ण सम्मान र संरक्षण गर्दै व्यावसायिक, अनुशासित तथा कर्तव्यनिष्ठ ढंगले कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए। साथै प्रहरी कर्मचारीलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन, व्यक्तिगत तथा व्यावसायिक समस्या वा गुनासा निर्धारित प्रक्रिया अनुसार प्रतिवेदन गर्न आग्रह गरेका थिए।
प्रहरी कर्मचारीका पिरमर्का तथा गुनासोलाई संगठनले तोकेको विधि र प्रक्रिया अनुसार सम्बोधन गरिने उल्लेख गर्दै उनले अनुशासित, जिम्मेवार र जनमैत्री प्रहरी सेवामा जोड दिएका थिए। डीआईजीले निर्देशन दिने क्रममा रौतहट बाराका प्रहरी प्रमुख एसपी , डिएसपि, साथै जिल्ला भरिका सम्पूर्ण युनिट प्रमुखहरूको उपस्थिति रहेको थियो।
त्यस अघि डिआईजी अधिकारीले मंगलवार बिहान ईलाका प्रहरी कार्यालय गरुडाको अनुगमन निरीक्षण गरेका थिए। करिब दुईसाता अघी मधेश प्रदेश प्रमुखको जिम्मेवारी सम्भालेका डिआईजी अधिकारी सोमवार जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण तथा निर्देशन दिएका थिए।

