आफ्नै छिमेकीको हत्या गरेको आरोपमा २५ वर्षीय सन्तोषकुमार रायलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरेका छन् । प्रहरीका अनुसार रायले ५३ वर्षीय छिमेकी होसनारायण राय यादवको धारिलो हतियार (हँसिया) प्रहार गरी हत्या गरेको आरोप छ । प्रारम्भिक अनुसन्धानमा उनले आफ्नै बुबा र भिनाजुलाई फसाउने उद्देश्यले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
सर्लाहीका प्रहरी प्रमुख एसपी रवीन्द्रनाथ पौडेलका अनुसार अभियुक्त रायले प्रारम्भिक सोधपुछका क्रममा अपराध स्वीकार गरेका छन् । उनले मोबाइल खरिदका लागि पैसा माग्दा बुबासँग विवाद भएको र परिवारका सदस्यले सुधार केन्द्र पठाउने धम्की दिने गरेकाले उनीहरूप्रति रिस बढ्दै गएको बताएका छन् । घटना ७ असार राति भएको हो । भैंसी गोठमा सुतिरहेका यादवमाथि आक्रमण हुँदा घाँटीमा गम्भीर चोट लागेको थियो । उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनापछि फरार रहेका रायलाई १६ असारमा बरहथवा नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा घटनास्थल आसपासको सीसीटीभी फुटेजका आधारमा उनीमाथि शंका केन्द्रित भएको थियो । प्रहरीका अनुसार घटनामा प्रयोग गरिएको चोरीको मोटरसाइकल ८ असारमा लालबन्दी नगरपालिका–२ नवलपुर क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको थियो ।
उक्त मोटरसाइकल छिमेकी हरिन्द्रराम यादवको रहेको र अभियुक्तले चोरी गरी घटनामा प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले अभियुक्त रायविरुद्ध कर्तव्य ज्यान तथा चोरी मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाएको बताइएको छ ।

