२०८३ असार १९, शुक्रबार १०:४२

सञ्जय मिश्रा

रौतहट, १९ असार।

रौतहटको पश्चिमी क्षेत्रमा पर्ने लालबकैया नदीबाट टेन्डरविनै नदीजन्य पदार्थको अवैध उत्खनन र ढुवानी भइरहेको भन्दै स्थानीयले प्रहरी तथा केही जनप्रतिनिधिमाथि मिलेमतोको आरोप लगाएका छन्।

स्थानीयका अनुसार इलाका प्रहरी कार्यालय विजयपुर–लक्ष्मिनिया मातहतको प्रहरी चौकी हरिनगर जंगलसैयाको कार्यक्षेत्रअन्तर्गत गर्जा पुल आसपासबाट बिहीबार पनि ढुंगा, गिटी र बालुवाको उत्खनन तथा ढुवानी भइरहेको देखिएको छ। स्थानीयले प्रहरी चौकी प्रमुख असई रामेश्वर महतोको मिलेमतोमा अवैध गतिविधि भइरहेको दाबी गर्दै निष्पक्ष छानबिन र कारबाहीको माग गरेका छन्। त्यसै गरी ईलाका प्रहरी कार्यालय बिजयपुर सशस्त्र बेस क्याम्प बिजयपुर र अस्थायी बेस क्याम्प पोखरभिन्डाको मिलोमतोमा नदी दोहन भइरहेको स्थानीयले बताएका छन्।

नेपाल सरकारको नीति अनुरुप असार लागेपछि नदीमा उत्खनन पूर्ण रुपमा बन्द गरिन्छ। तर गुजरा र फतुवा विजयपुरमा भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधिको अप्रत्यक्ष मिलोमतोमा आज असार महिनाको १९ गतेसम्म पनी नदी दोहन जारिनै रहेको छ।

स्थानीयका अनुसार गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाअन्तर्गतका विभिन्न घाटबाट दैनिक सयौं ट्र्याक्टरले नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी गरिरहेका छन्। दुवै स्थानीय तहले आर्थिक वर्ष २०८२र०८३ का लागि हालसम्म नदीको ठेक्का प्रक्रिया टुंग्याउन नसकेको उनीहरूको भनाइ छ।

स्थानीयले टेन्डर नभएको अवस्थामा नदीजन्य पदार्थको उत्खनन पूर्ण रूपमा रोकिनुपर्ने कानुनी व्यवस्था भए पनि व्यवहारमा भने जंगलसहिया, सिमरी, राँगी, बोटावा लगायतका घाटबाट बिहानदेखि साँझसम्म उत्खनन र ढुवानी भइरहेको बताएका छन्।

समाचार स्रोतका अनुसार नदीबाट सामग्री उठाउने ट्र्याक्टरबाट विभिन्न सुरक्षा निकायलाई मासिक रकम बुझाएर निर्बाध रूपमा ढुवानी हुने गरेको आरोपसमेत लगाइएको छ। त्यसैगरी नदीजन्य पदार्थ ढुवानीमा केही जनप्रतिनिधिको ट्याक्टर समेत प्रयोग भईरहेकाले उनीहरू मौन बसेका छन्।

स्थानीयले नदीजन्य पदार्थको अनुगमन तथा नियमन गर्ने जिम्मेवारी पाएको जिल्ला समन्वय समितिले प्रभावकारी भूमिका निर्वाह नगरेको समेत गुनासोसमेत गरेका छन्। रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालले घटनाको बारेमा छानबिन हुँदैछ दोषि देखिएमा तत्काल कार्वाही गर्ने चेतावनी दिएका छन्।

Comment


Related News