पर्साको ठोरी नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय पर्यटकका सवारी साधनमाथि सशस्त्र प्रहरीको बीओपीले कडाइ गरेपछि सयौं भारतीय पर्यटक सीमामै रोकिएपछि अलपत्र परेका छन् ।
ठोरी जंगल रिसोर्टका सञ्चालक सुदीप थापाले दिएको जानकारी अनुसार शुक्रबारदेखि ठोरीस्थित सशस्त्र प्रहरीको बीओपीले भारतीय नम्बरका मोटरसाइकल तथा चार पांग्रे सवारीसाधनलाई ठोरी प्रवेशमा पूर्ण रोक लगाएको छ । नेपाल प्रवेश गर्न नपाएपछि सीमानाका क्षेत्र ठुटेखोला पुलपारी भारतीय पर्यटकहरूको सवारी साधन रोकिएको छ ।
जसले गर्दा ठोरी बजार पुग्ने सार्वजनिक सवारी साधन नै छैन । यसबाट ठूलो संख्यामा भारतीय पर्यटकहरू पुल पारी अलपत्र परेको थापाले बताए । भारतीय पर्यटकका सवारी साधन नेपाल प्रवेश गर्न नपाएपछि ठोरीका पर्यटकीय गन्तव्य तथा होटेल, रिसोर्टहरू सुनसान भएको स्थानीय व्यवसायीहरु बताउँछन् ।
यहाँको पर्यटन भारतीय पर्यटकमाथि नै निर्भर रहेका छन् । ठोरीको पर्यटन क्षेत्रमा ५० करोडभन्दा बढी लगानी भइसकेको अवस्थामा भारतीय पर्यटकका सवारी साधनमाथि रोक लगाइएपछि यहाँको पर्यटन व्यवसायी चिन्तित बनेका छन् । ठोरीको पर्यटकीय क्षेत्र मुश्किलले ४ किमी लम्बाइको दायरामा रहेको व्यवसायी उनको भनाइ छ ।
भारतीय सवारी साधन नेपाल प्रवेश गर्न नदिन माथिबाट निर्देशन आएको सशस्त्र प्रहरीले जानकारी दिएको थापाले उद्धृत गर्दै भने । यसअघि पनि ठोरी नाकाको सञ्चालन र भन्सार व्यवस्थापनमा देखिएको समस्याले यस क्षेत्रको पर्यटन व्यवसायमा असर परेको थियो । पर्यटन–मैत्री नीतिको चर्चा भइरहेका बेला पर्यटकलाई सीमानाकाबाटै फर्काउनुले पर्यटन प्रवद्र्धनको सरकारी नीतिमै प्रश्न उठेको उनले बताए ।
सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक मोहन सिंह क्षेत्रीले ठोरी नाका मात्र नभइ जिल्लाका भिस्वा, धोरेलगायतका नाकामा पनि कडाइ गरिएको जानकारी दिए । बिना इजाजत भारतीय सवारी साधन निर्वाध नेपाल प्रवेश गर्ने र कतिपय भारतीयहरूबाट सुरक्षा व्यवस्थामा समस्या उत्पन्न हुन सक्ने भएकाले कडाइ गरिएको प्रस्ट्याए ।

