होटल तथा रेष्टुरेन्टमा अस्वच्छ तथा अखाद्य वस्तुको प्रयोग भइरहेको भन्ने गुनासो बढ्न थालेपछि मधेश प्रदेश सरकारले बजार अनुगमनलाई तीव्र बनाएको छ ।
गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा बिहीबारदेखि धनुषाका विभिन्न होटल तथा रेष्टुरेन्टमा स्थलगत निरीक्षण सुरु गरिएको हो । मन्त्री महतो स्वयं सुरक्षा टोलीसहित जनकपुरधाम तथा धनुषाका विभिन्न स्थानमा पुगेर खाद्य स्वच्छता, सरसफाइ, सेवा प्रवाह, खाद्य पदार्थको गुणस्तर तथा उपभोक्ता हितसम्बन्धी मापदण्डको निरीक्षण गरिरहेका छन्।
दुई दिनको अवधिमा १० वटा होटल तथा रेष्टुरेन्टको अनुगमन गरिएको जनाइएको छ । अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएपछि चार होटललाई कुल १ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। लक्ष्मीनियास्थित बाबाको ढाबा लाई ३५ हजार रुपैयाँ, ढल्केबरस्थित द रोयाल सम्राट लाई ५ हजार रुपैयाँ, जनकपुरधामस्थित बाजेको सेकुवा लाई ७५ हजार रुपैयाँ तथा बर्गर हाउस लाई ३५ हजार रुपैयाँ जरिवाना गरिएको मन्त्री महतोले जानकारी दिए ।
निरीक्षणका क्रममा केही होटलमा सरसफाइको अवस्था कमजोर रहेको, खाद्य सामग्री सुरक्षित रूपमा भण्डारण नगरिएको तथा उपभोक्ता संरक्षणसम्बन्धी आवश्यक मापदण्ड पूर्ण रूपमा कार्यान्वयन नभएको भेटिएको उनले बताए । त्यस्ता व्यवसायीलाई तत्काल कमजोरी सुधार गर्न निर्देशन दिँदै आगामी दिनमा नियमको पूर्ण पालना गर्न सचेतसमेत गराइएको छ ।
मन्त्री महतोले होटल तथा रेष्टुरेन्टले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले खाद्य सुरक्षा र स्वच्छतासम्बन्धी सबै कानुनी मापदण्ड कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएका छन् । नियम उल्लंघन गर्ने व्यवसायीमाथि आगामी दिनमा पनि कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिँदै उनले उपभोक्ताको हित संरक्षण र खाद्य सेवाको गुणस्तर अभिवृद्धिका लागि यस्ता अनुगमन अभियानलाई निरन्तर सञ्चालन गरिने बताए ।

