नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत कामका बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
शनिबार रुपन्देहीको बुटवलमा नेकपा लुम्विनी प्रदेश समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिले सरकारले गलत काम गर्दा पनि कसैले बोल्ने आँट नगरेको भन्दै नेकपा केहि महिनापछि आन्दोलनमा जाने चेतावनी दिनुभएको हो ।
नेकपा ‘बोल्ने बेला आउला’ भनेर बसिरहेको उल्लेख गर्दै प्रचण्डले आवश्यक परे बोल्ने मात्रै नभइ राम्रोसँग लड्ने तर्क गर्नुभयो । प्रचण्डले भाद्र २३ र २४ गते सुशासन लगाएत राम्रो उद्देश्यको निम्ति आन्दोलन भएको नभइ ठूलो डिजाइन र षड्यन्त्र अन्तर्गत नेपालको भू–राजनीतिमाथि हस्तक्षेप गरेर भारत र चीनलाई कन्ट्रोल गर्ने र बेस बनाउने इन्डो–प्यासिफिक स्ट्राटेजी अन्तर्गत भएको हो भन्ने बुझ्न गाह्रो नरहेको बताउनुभयो ।
त्यस्तै प्रचण्डले नेकपा नेतृत्व र आफुमाथि पार्टीभित्रैबाट अपमानीत गर्न खोजेको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाले मूल नेतृत्व इतिहास, आन्दोलन र संघर्षले बनाउने भएकाले कसैले बनाउने वा हटाउने कुरा नभएको जिकिर गर्नुभयो ।
राजनीतिक, सांगठनिक कार्यशैली सबै छलफल गरेर उचित नेतृत्व तयार भए आफु छाड्न तयार भएको उहाको भनाइ छ । उहाले अहिले कुनै पार्टीसंगको एकताको चर्चा गर्नुभन्दा पनि महाधिवेशनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

