२०८३ असार २२, सोमबार ०६:१६

पर्साको वीरगञ्ज महानगरपालिकामा सडक विस्तारको काम अझैसम्म पनि शुरु हुन सकेको छैन । सडक विस्तारको काममा स्थानीयवासीहरुले नै अवरोध खडा गरेपछि शुक्रबारदेखि रोकिएको वीरगञ्जको मुख्य सडक क्षेत्रमा सडक सीमाभित्र परेका घर तथा संरचनामा डोजर चलाउने अभियान आइतबार पनि हुन सकेको छैन ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल शनिबार विदाको दिन आफ्नै काममा व्यस्त हुँदा सरोकारवालाको बैठक हुन नसकेपछि सडक विस्तारको कामले गति लिन सकेको छैन । सडक डिभिजन कार्यालय हेटौँडाका इञ्जिनियरसमेत रहेका वीरगञ्जका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादले बैठकका लागि कार्यालयका डीइ किरण कार्की समेत शनिबार आए पनि प्रजिअ दाहालको अनुपस्थितिका कारण सम्पन्न हुन नसकेको बताए । उनले कार्यालय खुल्ने दिन सोमबार बैठक गर्ने हुने बताए ।

विवाद समाधान नगरी काम गर्दा पटक पटक समस्या आउने र डोजर अपरेटहरु पनि असुरक्षित रहेकाले थप एक दिन बैठकका लागि प्रतिक्षा गरेको उनले बताए । सडक डिभिजन कार्यालय हेटौँडाले शुक्रबार दिउँसो करिब १ बजेदेखि त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जको मुख्य सडक क्षेत्रमा सडक सीमा अतिक्रमण गरी बनेका संरचना हटाउने अभियान शुरु गरेको थियो ।

कृषि औजार कारखानासम्मका संरचना हटाइसकेपछि सोही दिनको साँझदेखि बहुअरी क्षेत्रका स्थानीयले डोजर सञ्चालनमा अवरोध गरेको थियो । स्थानीयवासीले वीरगञ्ज महानगरपालिकासंग आवश्यक समन्वय नगरी सडक विस्तारको काम अघि बढाएको भन्दै यस विषयमा सरोकारवाला निकायबीच छलफल जारी रहेकाले तत्काल डोजर नचलाउन भन्दै अवरोध गरेको छ ।

सडक डिभिजन कार्यालय हेटौँडाले असार ५ गने वीरगञ्ज महानगरपालिकालाई पत्राचार गर्दै त्रिभुवन राजमार्गअन्तर्गत सिरसिया–मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्म सडकको केन्द्ररेखाबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउने कार्यमा सहयोग गर्न आग्रह गरेको थियो । महानगरबाट अपेक्षित समन्वय हुन नसक्दा त्यसबेला अभियानले तीव्रता लिन सकेको छैन ।

यस अघि पनि कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सडक सीमाभित्र रहेका संरचना स्वयं हटाउन अन्तिम समयसीमा दिएको थियो । गत वैशाख ६ गते र ७ गते पहिलो चरणमा सडक विभागले मुख्य सडक क्षेत्रका करिब १२ सय घर तथा भवनमा डोजर चलाएको थियो ।

Comment


Related News