२०८३ असार २३, मंगलवार ०६:५८

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै पालिकाको बजेटको ७०—८० प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्दै आएको जनाइएको छ ।

जनकपुरधाममा आयोजित प्रधानाध्यापकहरूको संगठन प्रधानाध्यापक संघ नेपाल, मधेश प्रदेश द्वारा आयोजित ‘सार्वजनिक शिक्षा रूपान्तरणमा विद्यालय नेतृत्व, स्थानीय सरकार र नीति निर्माणमा साझेदारी’ विषयक कार्यक्रममा आयोजित प्यानल छलफलमा गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले यस्तो बताएका हुन् ।

अध्यक्ष यादवका अनुसार वडाध्यक्षहरूलाई छुट्याइने सिलिङ बजेटबाहेक पालिकाको अधिकांश बजेट शिक्षा क्षेत्रमा खर्च गरिदै आएको छ । संघीय तथा प्रदेश सरकारबाट अपेक्षित सहयोग नपाएपछि स्थानीय स्रोत परिचालन गरेर शिक्षा क्षेत्रमा लगानी बढाइएको उनले बताए । उनले आफ्नो कार्यकालअघि गाउँपालिकाका अधिकांश विद्यालयमा छाना, विद्युत्, बत्ती र पंखाजस्ता आधारभूत पूर्वाधारको अभाव रहेको उल्लेख गर्दै हाल अधिकांश विद्यालयमा छत ढलान, विद्युत् जडान तथा पंखाको व्यवस्था गरिएको बताए ।

गाउँपालिकाभित्र करिब ७ हजार विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै उनले आफ्नो कार्यकालमा तीन वटा माध्यमिक विद्यालय, एक वटा निम्न माध्यमिक विद्यालय र दुई वटा प्राथमिक विद्यालय थपिएको तथा विभिन्न विद्यालयमा नयाँ कक्षाकोठा निर्माण गरिएको बताए । विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न नियमित अनुगमन प्रणाली लागू गरिएको अध्यक्ष यादवले जानकारी दिए । उनका अनुसार शिक्षक तथा विद्यार्थीको नियमित उपस्थितिदेखि कक्षा सञ्चालन, पठनपाठनको अवधि, विद्यार्थी अनुपस्थितिको कारण र दिवा खाजाको व्यवस्थासम्मको निगरानी मोबाइल प्रविधिमार्फत गरिँदै आएको छ ।

विद्यालय भवनलाई विवाह तथा अन्य सामाजिक कार्यक्रमका लागि प्रयोग गर्ने पुरानो अभ्यास अन्त्य गर्न प्रत्येक गाउँमा सामुदायिक दलान निर्माण गरिएको पनि उनले बताए । साथै विद्यालय परिसरमा सञ्चालन हुँदै आएको प्रहरी चौकीलाई स्थानान्तरण गर्न करिब ५० लाख रुपैयाँको लागतमा नयाँ प्रहरी भवन निर्माण गरी विद्यालयको शैक्षिक वातावरण सुधार गरिएको उनले बताए । छोरीहरूको शिक्षामा पहुँच र निरन्तरता बढाउने उद्देश्यले उच्च माध्यमिक तहमा अध्ययनरत छात्राका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको जानकारी पनि अध्यक्ष यादवले दिए । साथै फर्जी विद्यार्थीको नामावली हटाउने, दलित, गरिब तथा विपन्न विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था गरिएको पनि उनले बताए ।

Comment


Related News

Latest News

Trending News