२०८३ असार २३, मंगलवार ०७:०२

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूलाई जुनसुकै बेला प्रहरी प्रशासनले धरपकड गर्न सक्ने बताएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका समर्थकले विगतमा पटक–पटक विभिन्न आरोपमा प्रहरी प्रशासनबाट आफूलाई पक्राउ गर्न सक्ने र धरपकड हुनसक्ने अनुमान गर्दै बताएका छन् । अफवाह फैलाएको र साइबर अपराध जस्ता मुद्दाहरूमा उनी विभिन्न मितिमा पक्राउ परिसकेका प्रसाईँले पछिल्लो समय पनि सरकार र नेतृत्वविरुद्ध कडा आलोचना गर्दै आएका छन् । वर्तमान सरकारप्रति कडा टिप्पणी गर्दै सिंहदरबारको प्रणाली सरकारमा रहेका व्यक्तिहरूकै कारण कमजोर बनेको आरोप लगाए ।

पूर्वसांसद धवल शमशेर राणासंगै जनकपुरधाम आइपुगेका प्रसार्इँले सञ्चारकर्मीसँग कुरा गर्दै सिंहदरबारमा आगो लगाउनेहरू नै अहिले सत्तामा रहेको दाबी गरे । उनले त्यही कारण अहिले सिंहदरबारको सम्पूर्ण प्रणाली बिग्रिएको आरोप लगाए । वर्तमान सरकारले १०० दिनको कार्यकाल पूरा गरेको उल्लेख गर्दै प्रसाईंले आफूहरूले त्यसको समीक्षा अझै नगरेको भए पनि छिट्टै सरकारको १०० दिने कार्यसम्पादनको समीक्षा गर्दै भिडियो सार्वजनिक गर्ने जानकारी दिए । उनले वर्तमान सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धसमेत प्रभावित बनाइरहेको आरोप लगाए । नेपालमा विगतमा कहिल्यै दलाई लामाको जन्मोत्सव नमनाइने गरेको उल्लेख गर्दै अहिले त्यसलाई मनाउन थालिएको भन्दै यसले नेपालले उक्त विषयलाई स्वीकार गरेको सन्देश गएको दाबी गरे ।

प्रसाईंले आफ्ना भनाइमा सरकारको विदेश नीतिसम्बन्धी विषयमा समेत प्रश्न उठाउँदै राष्ट्रिय हितलाई केन्द्रमा राखेर नीति अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गरे । नागरिक बचाउ महाअभियानको कार्यक्रमअन्तर्गत प्रसाईं मंगलबार जनकपुरधाममा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । साथै उनले जानकी मन्दिरमा पूजा–अर्चना गर्ने, नगरमा जुलुस निकाल्ने तथा साँझ जानकी मन्दिर परिसरमा दीप प्रज्वलन कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News