रौतहटमा एक नेपाली र चार भारतीय नागरिकविरुद्ध जबर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गरिएको छ। पीडित २२ वर्षीया युवतीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटले पाँच जनाविरुद्ध सोमबार जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेको हो।
प्रहरी स्रोतका अनुसार गौरस्थित होटल सुष्मा प्यालेसबाट पक्राउ परेका स्थानीय २५ वर्षीय सन्तोषकुमार राउत तथा भारतीय नागरिक मोहम्मद ताजुदिन, जितेन्द्र कुमार, हसमिन आलमसहित पाँच जनाविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ। जिल्ला अदालत रौतहटले उनीहरूलाई अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ।
हाल पाँचै जना जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आइतबार दिउँसो गौरस्थित होटल सुष्मा प्यालेसमा एक युवतीलाई बन्धक बनाई सामूहिक रूपमा जबर्जस्ती करणी भइरहेको भन्ने सूचनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसक्रममा पाँचै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पीडित युवतीको प्रादेशिक अस्पताल गौरमा स्वास्थ्य परीक्षण सम्पन्न भइसकेको छ। घटनासम्बन्धी थप तथ्य तथा विवरण अनुसन्धानको क्रममा खुल्ने प्रहरी स्रोतको भनाइ छ।
प्रहरीले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।

