रौतहट प्रहरीले गरुडा नगरपालिकाबाट लोड गरिएको कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गर्दै थप गोली, नेपाली तथा भारतीय रुपैयाँ र नाइट्राभेट ट्याबलेट बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार गरुडा नगरपालिका–५ झाझपुलस्थित गौतम सहनीले सञ्चालन गरेको मदिरा पसलमा गरिएको सुरक्षा जाँचका क्रममा गरुडा नगरपालिका–९ बिर्ताका करिब ४२ वर्षीय सदरे आलमलाई पक्राउ गरिएको हो।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यको नेतृत्वमा खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा रहेका आलमको शरीर खानतलासी गर्दा उनको कम्मरमा एक राउन्ड गोली लोड गरिएको कटुवा पेस्तोल फेला पारेको प्रहरीले जनाएको छ।
पक्राउपछि गरिएको सोधपुछमा आलमले मदिरा पसल पछाडिको खेतमा थप गोली तथा नगद लुकाएर राखेको स्वीकार गरेका थिए। त्यसपछि प्रहरी टोलीले उनलाई साथमा लिएर उक्त स्थानमा खोजतलासी गर्दा कटुवा पेस्तोलमा प्रयोग हुने ४ थान लाइभ राउन्ड, १ थान ब्ल्याङ्क राउन्ड, कालो रङको पर्सभित्र राखिएको २४ हजार ५ सय भारतीय रुपैयाँ, ३२ हजार ५ सय नेपाली रुपैयाँ तथा २ पिस नाइट्राभेट ट्याबलेट बरामद गरेको जनाएको छ।
घटनाका सम्बन्धमा पक्राउ परेका आलममाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

