मधेश प्रदेशमा बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको सरकारी दाबी भए पनि देशका विभिन्न जिल्लामा संक्रमण कायम रहँदा पोल्ट्री व्यवसायीमा चिन्ता बढेको छ ।
विशेषगरी कुखुरा तथा कुखुराजन्य वस्तुको अन्तरजिल्ला ढुवानीसंग जोडिएको मधेशका किसानले बजारमा फैलिएको त्रासका कारण बिक्री घटेको गुनासो गरेका छन् । पशु सेवा विभागले जनाए अनुसार पछिल्लो चरणमा बर्डफ्लु ११ जिल्लामा फैलिएको थियो । महोत्तरी, बारालगायत मधेश प्रदेशका जिल्लामा संक्रमण नियन्त्रणमा आइसकेको भए पनि काठमाण्डु, ललितपुर, भक्तपुर र काभ्रेमा अझै संक्रमण कायमै छ । विशेषज्ञहरूका अनुसार मधेश प्रद्येशको महोत्तरी, बारालगायतका जिल्ला र काठमाण्डु जोड्ने मुख्य ढुवानी मार्ग भएकाले संक्रमणको जोखिम पूर्ण रूपमा हटेको छैन ।
यसैबीच काभ्रेमा बर्डफ्लुका कारण ठूलो आर्थिक क्षति व्यहोरेका किसान सरकारी राहतको प्रतीक्षामा छन् । काभ्रेको पनौती नगरपालिका–६ का प्रदीप कार्कीले सञ्चालन गर्दै आएको फार्ममा बर्डफ्लु पुष्टि भएपछि पाँच हजार लेयर्स कुखुरा, अण्डा, दाना तथा अन्य सामग्री नष्ट गरिएको छ । आठ वर्षअघि करिब डेढ लाख रुपैयाँबाट व्यवसाय शुरु गरेका कार्कीले फार्म विस्तार गर्दै पाँच हजार लेयर्स कुखुरा पु¥याएका थिए ।
उनी मासिक करिब डेढ लाख रुपैयाँ आम्दानी गर्दै आएका थिए भने थप पाँच हजार चल्ला राखेर व्यवसाय विस्तार गर्ने तयारीमा थिए। तर बर्डफ्लु पुष्टि भएपछि उनको योजना रोकिएको छ । उनका अनुसार एउटा लेयर्स कुखुरालाई उत्पादनयोग्य बनाउन करिब १ हजार ३ सय रुपैयाँ खर्च लाग्छ ।
पाँच हजार कुखुरामा मात्रै करिब ६५ लाख रुपैयाँभन्दा बढी लगानी भएको थियो । व्यवसाय विस्तारका लागि उनले करिब ७० लाख रुपैयाँ बैंक ऋणसमेत लिएका छन् । अहिले व्यवसाय बन्द भएपछि ऋणको किस्ता, ब्याज र परिवारको खर्च व्यवस्थापन चुनौती बनेको छ । सरकारी मापदण्डअनुसार प्रभावित फार्ममा तीन महिना सम्म पुनः कुखुरा पाल्न नपाइने भएकाले तत्काल आम्दानीको स्रोतसमेत बन्द भएको उनले बताए । कार्कीका अनुसार समस्या संक्रमित फार्ममा मात्र सीमित छैन ।
संक्रमण लेयर्स कुखुरामा देखिए पनि बजारमा फैलिएको त्रासका कारण ब्रोइलर कुखुराको मासु र अण्डाको बिक्रीसमेत घटेको छ । उनले सरकारले संक्रमण नियन्त्रणसँगै उपभोक्तामा सही सूचना प्रवाह गरेर अनावश्यक डर हटाउनुपर्ने बताएका छन् । जिल्ला पशु सेवा कार्यालय काभ्रेका अनुसार काठमाण्डु उपत्यका र मधेश प्रदेश जोड्ने मुख्य मार्ग भएकाले काभ्रेमा दैनिक ठूलो मात्रामा कुखुरा तथा कुखुराजन्य सामग्रीको ओसारपसार हुँदै आएको छ ।
कमजोर क्वारेन्टाइन, बायोसिक्युरिटीको पालना नहुनु तथा मृत कुखुराको अव्यवस्थित व्यवस्थापनका कारण संक्रमण तीव्र रूपमा फैलिएको कार्यालयले निष्कर्ष निकालेको छ । हालसम्म काभ्रेका १७ स्थानमा संक्रमण पुष्टि भएको छ । संक्रमण नियन्त्रणका क्रममा ६२ हजार ५१९ वटा कुखुरा तथा हाँस, ३६ हजार १ केजी दाना र ९ हजार ८ सय अण्डा नष्ट गरिएको छ । यसबाट करोडौं रुपैयाँ बराबरको क्षति भएको अनुमानसमेत गरिएको छ ।
बर्डफ्लु नियन्त्रणका क्रममा सरकारले नष्ट गरिएका कुखुराको मूल्यको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराउने व्यवस्था छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित क्षतिपूर्ति मूल्यांकन समितिले दररेट निर्धारण गरेपछि राहत वितरण गरिने जनाइएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जनाए अनुसार क्षतिपूर्तिका लागि आवश्यक सिफारिस केन्द्रमा पठाइसकिएको छ भने बजेट निकासा भएपछि राहत वितरण गरिनेछ । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले पनि प्रभावित किसानको खातामा राहत रकम पठाउने प्रक्रिया शुरु भइसकेको र केही दिनभित्र वितरण हुने बताएका छन् ।
मधेशमा निगरानी कायम
संक्रमण हाल नियन्त्रणमा आए पनि महोत्तरी, बारालगायत मधेश प्रदेशका जिल्लामा पशु स्वास्थ्य कार्यालयले निगरानी, जैविक सुरक्षा -बायोसिक्युरिटी) र ढुवानी व्यवस्थापनमा विशेष सतर्कता अपनाइरहेको जनाएको छ ।
विज्ञहरूले मधेश प्रदेशमा रहेका पोल्ट्री व्यवसायीलाई बाहिरी जिल्लाबाट कुखुरा तथा चल्ला खरिद गर्दा स्वास्थ्य परीक्षण, फार्ममा जैविक सुरक्षा र मृत कुखुराको सुरक्षित व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरेका छन् । जसले गर्दा मधेश प्रदेशमा बर्डफ्लु संक्रमण फैलिए पनि नियन्त्रणमा रहेको दाबी पशुसेवा कार्यालयले गरेको छ ।

