२०८३ असार २४, बुधबार ०७:१५

मधेश प्रदेश सरकारको प्रशासनिक निकाय रहेको मधेश भवनमा फोटो खिच्न तथा क्यामेरा लैजानका लागि पत्रकारमाथि रोक लगाइएको छ ।

मधेश भवन प्रवेशद्वारमा खटिएका सुरक्षाकर्मीले क्यामेरा प्रवेशमै रोक्ने र पत्रकार भएको परिचय दिएपछि थप सोधपुछ गर्ने गरेको तथा पत्रकारले फोटो भिडियो लिएमा तत्काल क्यामेराबाट डिलिट गर्न लगाउने कार्य भइरहेको छ ।

असारे विकासको चटारो र रकम भुक्तानीलगायतका कामकारबाही अहिले मधेश भवनमा मध्यरातसम्म पनि हुने गरेको छ । जसले गर्दा पत्रकारमाथि मानसिकरुपमा समेत सुरक्षानिकायले यातनासंगै दबाब दिने गरेको एक पत्रकारले जानकारी दिए । मधेश भवनमा सोमबार केही पत्रकारले आफ्नो परिचय दिएर प्रवेश गर्न खोज्दा ‘पत्रकार हरूले फोटो खिच्छन्’ भन्ने कारण देखाउँदै प्रवेश गर्नमा रोक लगाएको छ ।

सामान्यतया पनि कुन मन्त्रालयमा काम छ भन्ने पुष्टि गर्न सम्बन्धित मन्त्रालयका कर्मचारी वा पदाधिकारीसंग सम्पर्क गराएपछि मात्रै प्रवेश गर्न दिइने गरिएको बताइन्छ । गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले मधेश भवनमा पत्रकारलाई फोटो खिच्न वा क्यामेरा लैजान निषेध गरिएको भन्ने कुनै निर्णय प्रदेश सरकारले नगरेको बताए । उनले भने, ‘पत्रकारलाई मधेश भवन प्रवेशमा रोक लगाइएको छैन । किन र के कारणले यस्तो भएको हो, म बुझ्छु ।’ मुख्यमन्त्री कृष्णप्रसाद यादवले पनि घटनाबारे जानकारी नभएको प्रतिक्रिया दिए । उनले प्रदेश सरकारको तर्फबाट पत्रकारलाई प्रवेशमा रोक लगाउने कुनै निर्णय नभएको दाबी गरे ।

मधेश भवन सुरक्षाको जिम्मेवारीमा रहेका गण प्रमुख एसपी मदन बढुथोकीले पनि पत्रकारलाई प्रवेशमा रोक्ने कुनै निर्देशन आफूहरूले नदिएको बताए । यस घटनाप्रति नेपाल पत्रकार महासंघ मधेश प्रदेशले आपत्ति जनाएको छ । पत्रकारलाई मधेश भवन प्रवेशमा रोक लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News