ट्राफिक अगाडि नै सेवाग्राहीमाथि आफ्नै कार्यकक्षमा हातपात गरेको आरोप लागेका यातायात व्यवस्था कार्यालय बाराका निमित्त कार्यालय प्रमुख चिन्तन आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
सामाजिक सञ्जालमा घटनाको भिडियो सार्वजनिक भई व्यापक चर्चा भएपछि जिल्ला प्रहरी कार्यालय बाराले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । धनुषा प्रहरीसँगको समन्वयमा बारा प्रहरीले आचार्यलाई कार्यालयमै बोलाएर नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार सार्वजनिक भिडियोको सत्यतथ्य बुझ्न र घटनाबारे विस्तृत अनुसन्धान गर्न आचार्यलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार भिडियोमा कार्यालय प्रमुख र एक सेवाग्राहीबीच विवाद चर्किएपछि कार्यकक्षभित्रै हातपात भएको देखिन्छ। यद्यपि उक्त घटना गत मार्च १७, २०२६ -फागुनको तेस्रो साता) मा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भिडियो अहिले सार्वजनिक भए पनि घटनाको अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा विवादमा संलग्न व्यक्ति अरुण कुशवाहा रहेको खुलेको छ। प्रहरीका अनुसार उनले आफू पत्रकार भएको परिचय दिँदै आफ्नी श्रीमती र सालीको सवारी चालक अनुमतिपत्र -लाइसेन्स) सम्बन्धी कामका लागि कार्यालय पुगेका थिए । त्यही क्रममा कर्मचारीसँग भनाभन, गालीगलौज र धाकधम्की भएपछि विवाद बढेको र त्यसपछि कार्यालय प्रमुख आचार्यले हातपात गरेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।
प्रहरीका अनुसार घटनापछि दुवै पक्षबीच तत्काल मिलापत्र गराइएको देखिएको थियो। त्यसैले त्यसबेला थप कानुनी प्रक्रिया अघि बढाइएको थिएन। तर भिडियो सार्वजनिक भई घटनाले पुनः चर्चा पाएपछि प्रहरीले स्वतः अनुसन्धान अघि बढाएको हो। घटनाको समयमा ट्राफिक प्रहरीका सई भानुभक्त आचार्यसहित दुई जना प्रहरी कार्यालय परिसरमै उपस्थित रहेको तथ्य पनि अनुसन्धानबाट खुलेको छ । घटनापछि चौतर्फी आलोचना बढेपछि मधेस प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले पनि प्रशासनिक कदम चालेको छ।
मन्त्रीस्तरीय निर्णयमार्फत चिन्तन आचार्यलाई मन्त्रालयमा तानिएको भए पनि मन्त्रालयमा हाजिर हुनुअघि नै उनी प्रहरी नियन्त्रणमा परेका हुन् । मन्त्रालयका सूचना अधिकारी सुनिल साहका अनुसार आचार्यको स्थानमा बारा यातायात व्यवस्था कार्यालयका अधिकृत रामस्वार्थ महतोलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ ।
सरकारी कार्यालयभित्र सेवाग्राहीमाथि भएको भनिएको हातपातको भिडियो सार्वजनिक भएपछि घटनाले व्यापक आलोचना खेपेको छ। घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी अनुसन्धान जारी रहेको छ भने मन्त्रालयले प्रशासनिक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

