२०८३ असार २४, बुधबार ०७:३०

नेपाली कांग्रेस र नेकपा -एमाले) बीच भएको सत्ता साझेदारी सहमति अनुसार प्रदेश सरकारहरूको नेतृत्व परिवर्तनको प्रक्रिया साउनको पहिलो सातादेखि सुरु हुने भएको छ ।

एमालेका नेताहरूका अनुसार मधेस प्रदेशबाहेक अन्य सबै प्रदेशमा नयाँ समीकरणअनुसार सरकार पुनर्गठन गरिने तयारी भइरहेको छ । नेकपा -एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले कांग्रेस– एमालेबीच भएको आलोपालो नेतृत्वको समझदारी कार्यान्वयन गर्ने समय आएको बताएका छन् ।

उनका अनुसार गठबन्धन बनेदेखि नै प्रदेश सरकारहरू पालैपालो सञ्चालन गर्ने सहमति भएकाले अब त्यसलाई व्यवहारमा उतार्न लागिएको हो । थपलियाले मधेस प्रदेशमा भने तत्काल सरकार परिवर्तन नहुने स्पष्ट पारे। उनका अनुसार त्यहाँ केही समयअघि मात्रै नयाँ सरकार गठन भएकाले तत्काल नेतृत्व फेरबदलको सम्भावना नरहेको छ।

अन्य प्रदेशमा भने पूर्वसहमतिअनुसार साउनको पहिलो सातादेखि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने उनले बताए । उनले कुन प्रदेशको नेतृत्व कुन दलले लिने भन्ने विषयमा कांग्रेस र एमालेका शीर्ष नेताबीच छलफल भइरहेको जानकारी दिए। प्रदेशगत राजनीतिक अवस्था, पूर्वसहमति तथा शक्ति सन्तुलनका आधारमा अन्तिम निर्णय पार्टी नेतृत्वबाट हुने उनको भनाइ छ ।

बागमती प्रदेशको सन्दर्भमा थपलियाले यसअघि एमालेको समर्थनमा अन्य दलबाट मुख्यमन्त्री बनेकाले अबको नेतृत्व एमालेले नै पाउनुपर्ने दाबी गरे। संसदीय अभ्यासअनुसार प्रदेश संसदीय दलको नेताले नै मुख्यमन्त्री बन्ने परम्परा रहेको उल्लेख गर्दै उनले बागमती प्रदेशको मुख्यमन्त्री पदमा आफ्नो स्वाभाविक दाबी रहेको पनि बताए ।

कांग्रेस र एमालेबीचको सत्ता साझेदारी सहमति कार्यान्वयनसँगै आगामी केही साताभित्र मधेस प्रदेशबाहेक अधिकांश प्रदेशमा सरकारको नेतृत्व परिवर्तन हुने राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।

Comment


Related News

Latest News

Trending News