मधेस प्रदेशमा पर्याप्त वर्षा नहुँदा अधिकांश किसान धान रोपाइँका लागि आकाशे पानीको भरमा बसेका छन् । तर कमला सिँचाइ आयोजनाबाट पानी आपूर्ति भएका धनुषा र सिरहाका क्षेत्रमा भने किसानले धान रोपाइँलाई तीव्रता दिएका छन् ।
कमला सिँचाइ व्यवस्थापन कार्यालय, पोर्ताहाले असार १३ गतेदेखि नै धनुषातर्फको पश्चिमी मुख्य नहर र सिरहातर्फको पूर्वी मुख्य नहरमा पानी प्रवाह सुरु गरेपछि नहरको पहुँच भएका गाउँमा रोपाइँले गति लिएको हो। कार्यालय प्रमुख रणधीरकुमार साहका अनुसार विगतमा साउन १ गतेदेखि मात्र नहर सञ्चालन गर्ने अभ्यास रहे पनि यस वर्ष किसानको आवश्यकता र वर्षा अभावलाई ध्यानमा राख्दै समयभन्दा अगावै पानी छाडिएको हो । कार्यालयका अनुसार पश्चिमी नहरमार्फत धनुषाको करिब १२ हजार ५०० हेक्टर तथा पूर्वी नहरमार्फत सिरहाको समान क्षेत्रफल गरी कुल २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ ।
पछिल्ला वर्षहरूमा सहायक नहर र पैनी विस्तार गरिएपछि अहिले करिब ३० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा उपलब्ध भइरहेको कार्यालयले जनाएको छ । धनुषाको गणेशमान चारनाथ, सबैला, सहिदनगर, विदेह, कमला, हँसपुर, औरही र जनकनन्दनी नगरपालिकासहित आठ स्थानीय तह तथा सिरहाको कर्जन्हा, मिर्चैया, कल्याणपुर, सिरहा र औरहीलगायत क्षेत्रले नहर प्रणालीबाट प्रत्यक्ष लाभ लिइरहेका छन् । आयोजनाअन्तर्गत दुवै जिल्लामा मुख्य र सहायक गरी करिब ५०० किलोमिटर लामो नहर सञ्जाल सञ्चालनमा रहेको जानकारी पनि कार्यालयले दिएको छ । हाल पश्चिमी र पूर्वी दुवै मुख्य नहरमा प्रतिक्षण १४ हजार लिटरका दरले पानी प्रवाह भइरहेको कार्यालय प्रमुख साहले बताए ।
उनका अनुसार कार्यालयअन्तर्गत रहेको हर्दिनाथ सिँचाइ योजनाले थप दुई हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराइरहेको छ। सिँचाइ व्यवस्थापन प्रभावकारी बनाउन विभिन्न स्थानमा किसानको सहभागितामा जल उपभोक्ता समितिहरू पनि गठन गरिएको छ । गणेशमान चारनाथ नगरपालिका–९ बरमझियाका किसान रामपुकार यादवले नहरमा समयमै पानी आएपछि धान रोप्न सहज भएको बताए। उनका अनुसार पर्याप्त वर्षा नभए पनि सिँचाइ उपलब्ध भएकाले खेत तयारी र रोपाइँ नियमित रूपमा भइरहेको छ।
नहर नपुगेका क्षेत्रमा भने किसानले डिप ट्युबवेल, इनार तथा विद्युतीय मोटर प्रयोग गरेर रोपाइँ गरिरहेका छन् भने सिँचाइको कुनै विकल्प नभएका किसान अझै वर्षाको प्रतीक्षामा छन् । सोही क्षेत्रका अर्का किसान बलि शर्माले यस वर्ष विगतभन्दा छिट्टै नहरमा पानी पुगेकाले रोपाइँ समयमै गर्न सकिएको बताए। उनले नहर आसपासका अधिकांश खेतमा अहिले सिँचाइको समस्या नरहेको उल्लेख गरे । कृषि विकास निर्देशनालय, मधेस प्रदेशका तथ्याङ्कअनुसार असार १९ गतेसम्म धनुषामा ४३ हजार ७०० हेक्टर धान खेतीयोग्य जमिनमध्ये ६ हजार ५५५ हेक्टर अर्थात् करिब १५ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको छ ।
प्रदेशभरका आठ जिल्लामा रहेको ३ लाख ८५ हजार ९३३ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये हालसम्म ५९ हजार ८९५.०६ हेक्टरमा मात्र धान रोपिएको छ, जुन कुल क्षेत्रफलको १४.७३ प्रतिशत हो। पर्याप्त वर्षा हुन नसकेकाले प्रदेशका धेरै स्थानमा रोपाइँको गति अझै सुस्त रहेको कृषि क्षेत्रका अधिकारीहरू बताउँछन् । वि.सं. २०१७ कात्तिक २६ गते तत्कालीन सिँचाइमन्त्री गणेशमान सिंहद्वारा शिलान्यास गरिएको कमला सिँचाइ आयोजना नेपालका प्रमुख सिँचाइ आयोजनामध्ये एक हो। आयोजनाले वि.सं. २०४० सालदेखि नियमित रूपमा सिँचाइ सेवा प्रदान गर्दै आएको छ ।

