२०८३ असार २४, बुधबार ११:१४

रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा पुरानो जग्गा विवादले उग्र रूप लिँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। घटनामा एक वृद्ध घाइते भएका छन् भने प्रहरीले घटनामा संलग्न बाबुछोरालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार मंगलबार राति करिब ८स्१५ बजे स्थानीय रामबहादुर साह, उनका छोरीज्वाइँ बुटन साह, रामऔतार साह र उनका छोरा राममहेश्वर साहबीच जग्गाको विषयलाई लिएर विवाद भएको थियो। सामान्य भनाभनबाट सुरु भएको विवाद केहीबेरमै हात हालाहालमा परिणत भएको प्रहरीले जनाएको छ।

सोही क्रममा राममहेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेका थिए। ढाडमा गम्भीर चोट लागेका बुटन साहलाई तत्काल प्रादेशिक अस्पताल गौर पुर्‍याइए पनि उपचारकै क्रममा राति करिब ९स्०५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनामा ८० वर्षीय रामबहादुर साह पनि टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ र अवस्था खतरा बाहिर रहेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले मुख्य आरोपित राममहेश्वर साह र उनका बुवा रामऔतार साहलाई पक्राउ गरेको छ। घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट पुरानो जग्गा विवादकै कारण घटना भएको देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

Comment


Related News

Latest News

Trending News