२०८३ असार २४, बुधबार १६:०४

नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले वर्तमान सरकारको सय दिनमा सरकारमा अधिनायकवादी र सर्वसत्तावादी प्रतिबिम्ब देखिएको बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै अर्यालले नयाँ सरकार बनेसँगै देशको राजनीतिक संस्कार, संवैधानिक सर्वोच्चता, शक्ति पृथकीकरणको सिद्धान्त र नागरिक स्वतन्त्रता सङ्कटमा परेको समेत आरोप लगाउनुभयो ।

उहाले सरकार राष्ट्रिय हितका सवालमा गम्भीर रूपमा चुकेको र नेपालले भारतको जग्गा मिचेको जस्ता विवादास्पद अभिव्यक्ति दिएर देशको ऐतिहासिक गौरव र राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाउने काम गरेको तर्क गर्नुभयो । अर्यालले संविधान कुनै सरकारको क्षणिक राजनीतिक सुविधा वा सत्ता सन्तुलन मिलाउने साधन नभएको भन्दै संविधानको आधारभूत विषयलाई तलमाथि गर्न नपाइने स्पष्ट पार्नुभयो ।

लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था, बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली, संघीय शासन प्रणाली, समावेशी व्यवस्था र मौलिक हकलाई खलबल्याउने गरी चाल्ने कुनैपनि कदमहरु स्वीकार्य नहुने उहाले बताउनुभयो ।

उहाले प्रतिपक्षले विरोधका लागि विरोध मात्रै नगर्ने भन्दै जनमतको सम्मान हुने गरि सरकारलाई सफल बनाउन आफ्नो दलले खबरदारी जारी राख्ने धारणा राख्नुभयो ।

सरकारलाई १०० दिनको अवधिबाट गम्भीर पाठ सिक्न सुझाव दिदै उहाले राजनीतिक प्रतिशोध, घृणा प्रेरित गैर–न्यायिक गिरफ्तारी, अपारदर्शी समूहको निर्देशनमा सरकार सञ्चालन, विधिको उल्लङ्घन र संसद्प्रतिको गैर–जवाफदेहिता त्याग्न आग्रह गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News