सरकारले मुख्यसचिव पदमा गोविन्द बहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ भने कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
त्यसैगरि बैठकले ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ , ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत गरेको छ भने ‘कारागार नियमावली, २०८३’ र मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो ।
साथै बैठकले भ्रष्टाचार विरुद्धको दोस्रो रणनीति योजना स्वीकृत गरेको छ ।

