२०८३ असार २५, बिहीबार ०७:४३

संघीय सरकारले यसपटक किसानलाई खेती गर्नका लागि मलको अभाव नहुने दाबी गरिरहँदा मधेश प्रदेशमा भने मलको आपूर्ति सरकारले कहाँ कति गरेको छ भन्ने कुराको पुष्टि गर्दै उजागर गरेको छ ।

जेन– जी आन्दोलनबाट उदाएको बालेन्द्र साह नेतृत्वको सरकारले मलको अभावन नहुने दाबी गर्ने क्रममा आफ्नो बजारमा मल नपाउँदा भारतबाट मल खरिद ल्याउने क्रममा दुई जना नेपालीलाई पक्राउ गरी मुद्दासमेत चलाएको छ । तर सरकार भने अझै पनि किसानको पीडा र मल आपूर्तिप्रति अचेत नै रहेको टिप्पणी हुन थालेको छ ।

भारतबाट रासायनिक मल लिएर नेपाल फर्किदै गरेका सर्लाहीका दुई जना नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन् । भारतको बिहार राज्यस्थित सीमावर्ती बजार सोनवर्षाबाट रासायनिक मल खरिद गरी नेपाल ल्याउने क्रममा उनीहरूलाई भारतीय सशस्त्र सीमा बल -एसएसबी) ले नियन्त्रणमा लिएर स्थानीय प्रहरीको जिम्मा लगाएको छ ।

पक्राउ परेका व्यक्तिहरू सर्लाहीको बलरा नगरपालिका–५ निवासी नागेन्द्रप्रसाद सिंह र सुरेशप्रसाद सिंह रहेको सर्लाही प्रहरीले जनाएको छ । उनीहरू करिब ६ दिनअघि पक्राउ परेका थिए । सोनवर्षा थानाका प्रमुख इन्स्पेक्टर धर्मेन्द्र कुमारका अनुसार सिंहद्वय आठ बोरा रासायनिक मल नेपालतर्फ लैजाँदै गरेका बेला एसएसबीले नियन्त्रणमा लिएको थियो ।

प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको उनले बताए । इन्स्पेक्टर कुमारले दिएको जानकारी अनुसार भारतको प्रचलित कानुन अनुसार आवश्यक प्रक्रिया पूरा नगरी सीमापार मल लैजान खोजिएकाले उनीहरूमाथि कारबाही अघि बढाइएको छ ।

पक्राउपछि उनीहरूलाई स्थानीय अदालतमा उपस्थित गराइएको छ भने मुद्दाको सुनुवाइ प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ । उता जिल्ला प्रशासन कार्यालय सर्लाहीले पनि घटनाबारे जानकारी प्राप्त भएको जनाएको छ । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद अधिकारीका अनुसार भारतीय अदालतमा कानुनी प्रक्रिया चलिरहेको छ । हालसम्म प्राप्त सूचनाअनुसार दुवै जना धरौटीमा रिहा हुने सम्भावना रहेको उनले बताए ।

यस घटनापछि स्थानीय तहका जनप्रतिनिधिले भने पक्राउ परेकाहरूलाई व्यावसायिक तस्करका रूपमा चित्रण गर्न नहुने धारणा व्यक्त गरेका छन् । बलरा नगरपालिका–५ का वडाध्यक्ष मनोजमोहन कुमार सिंहका अनुसार उनीहरूले आफ्नै खेतबारीमा प्रयोग गर्नका लागि रासायनिक मल खरिद गरेका थिए । वडाध्यक्ष सिंहले किसानले आफ्नै कृषि प्रयोजनका लागि मल ल्याएको दाबी गर्दै सरकारले समयमा र पर्याप्त मात्रामा मल उपलब्ध गराउन नसक्दा सीमावर्ती क्षेत्रका किसान भारतीय बजारमा निर्भर हुन बाध्य भएको बताए ।

उनका अनुसार किसानहरू मल अभावका कारण खेतीपातीको समयमा ठूलो समस्यामा परिरहेका छन् । उनले मधेश प्रदेशमा अहिले रासायनिक मल र वर्षा दुवैको अभाव रहेको उल्लेख गर्दै यस्तो अवस्था कायम रहे गत वर्षजस्तै खडेरीको जोखिम बढ्ने चेतावनी दिए । धान रोपाइँको मुख्य समयमा किसानले आवश्यक मल नपाउँदा कृषि उत्पादनमा प्रत्यक्ष असर पर्ने सम्भावना रहेको उनको भनाइ छ । नेपाल–भारत खुला सीमाका कारण सीमावर्ती क्षेत्रका नागरिक दैनिक उपभोगका सामग्री खरिद गर्न दुवै देश आवतजावत गर्ने गर्छन् ।

तर रासायनिक मलजस्ता कृषि सामग्री सीमापार ओसारपसार गर्दा सम्बन्धित देशका भन्सार तथा निर्यात–आयातसम्बन्धी कानुनी प्रक्रिया पालना गर्नुपर्ने व्यवस्था छ । प्रक्रिया पूरा नगरी ठूलो परिमाणमा मल लैजाँदा तस्करी वा अवैध ओसारपसारको आरोप लाग्न सक्ने भएकाले यस्ता घटना बेला–बेलामा दोहोरिने गरेका छन् ।

यस घटनाले नेपालमा वर्षेनी दोहोरिने रासायनिक मलको अभाव, सीमावर्ती किसानको बाध्यता तथा कृषि सामग्रीको सहज आपूर्तिमा देखिएको कमजोरीलाई पुनः उजागर गरेको छ । किसानका आवश्यकता समयमा सम्बोधन हुन नसके उनीहरू वैकल्पिक उपाय खोज्न बाध्य हुने अवस्था सिर्जना हुने र त्यसले कानुनी जटिलता समेत निम्त्याउने देखिन्छ ।

प्रत्येक वर्ष सयौँ विघा खेत मल र सिचाइँ अभावले खेत बाँझै रहने गरेको छ । आकाशे पानीको भर र कालोबजारबाट खरिद गरी ल्याएको मल प्रयोग गरी खेती गर्दै आएका किसानको पीडा बुझिदिने सरकार नहुँदा सास्ती भोग्दै आएको स्थानीय किसान रामउद्गार महतोले गुनासो गरे ।

Comment


Related News