सूर्तिजन्य पदार्थको गैरकानुनी बिक्री वितरण तथा उपभोग नियन्त्रण गर्न महोत्तरी जिल्ला प्रशासन कार्यालयले कडाइ गर्ने भएको छ ।
बालबालिका , किशोरकिशोरी, विद्यार्थी तथा गर्भवती महिलामा सूर्तिजन्य पदार्थको बढ्दो प्रयोगप्रति चिन्ता व्यक्त गर्दै प्रशासनले कानुनी व्यवस्था कडाइका साथ लागू गर्ने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट जारी सूचना अनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्ति तथा गर्भवती महिलालाई कुनै पनि प्रकारका सूर्तिजन्य पदार्थ बिक्री, वितरण वा निःशुल्क उपलब्ध गराउन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । यस्तो कार्य गरेमा कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएका छन् ।
त्यसैगरी, विद्यालय, कलेज, अस्पताल, स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय तथा नेपाल सरकारले तोकेका सार्वजनिक स्थलबाट कम्तीमा १०० मिटरको दूरीभित्र रहेका पसल वा व्यवसायबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने समेत भनेको छ । जिल्ला प्रशासन कार्यालयले सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ विपरीत गतिविधि गरेको पाइएमा ऐनको दफा १७ बमोजिम कडा कानुनी कारबाही तथा दण्ड सजाय हुने जनाएको छ ।
प्रशासनले महोत्तरीका सबै स्थानीय तह, प्रहरी, उद्योगी व्यवसायी, नागरिक समाज तथा सर्वसाधारणलाई कानुनी व्यवस्थाको पूर्ण पालना गर्न आग्रह गरेको छ । साथै, सूर्तिजन्य पदार्थ नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन नियमित अनुगमन तथा निरीक्षणसमेत गरिने प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले जनस्वास्थ्यमा गम्भीर असर पार्ने चुरोट, बिँडी, खैनी, गुट्खा, सिगार लगायतका सूर्तिजन्य पदार्थको अनियन्त्रित बिक्री र प्रयोग रोक्न सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ ।

