२०८३ असार २५, बिहीबार १९:२८

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्राथमिकता निर्धारण नगरी गरिने संविधान संशोधनले देश द्वन्द्वमा फस्न सक्ने बताउनुभएको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ बिषयक कार्यक्रममा सभापति थापाले प्राथमिकता निर्धारण नगरी गरिने संशोधनले अप्रत्याशित संवैधानिक जटिलता ल्याउने, चरम दलीय ध्रुवीकरण निम्त्याउने र समाज तथा भूगोललाई जोड्ने मूल आधारहरू नै भत्काउन सक्ने बताउनुभएको हो ।

उहाले सरकारले कुनै निश्चित वा प्रष्ट समस्यालाई सुधार गर्ने उद्देश्य नराखी समग्र अन्तरवस्तुलाई एकैपटक संशोधनको एजेन्डा बनाउन खोजेको भन्दै आपत्ति जनाउनुभयो । लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली, बहुजातीयता, बहुधार्मिकता, बहुसांस्कृतिक विशेषता र समानुपातिक समावेशी प्रतिनिधित्वमा कुनै पनि सम्झौता नहुने कांग्रेसको स्पष्ट नीति रहेको उहाको भनाइ छ ।

सभापति थापाले संघ र प्रदेश दुवैको संसदको आकार र मन्त्रीपरिषदको आकार घटाउने, स्थानीय सरकारलाई सवल बनाउने जस्ता बिषयमा संशोधन गर्न कांग्रेस तयार रहेको बताउनुभयो । तर कुनै संरचना नै खारेज गर्ने जस्ता बिषयलाई अघि बढाएर देशलाई द्वन्द्वमा फसाउन नहुने तर्क गर्नुभयो ।

सभापति थापाले संवैधानिक निकायलाई बलियो बनाउनुपर्नेमा उनीहरुलाई सरकारको छाँया जस्तो बनाउन खोजिएको धारणा राख्नुभयो । कांग्रेसले आफ्नो पार्टीभित्र र देशमा कतै भागबन्डा नगर्ने उल्लेख गर्दै सभापति थापाले संवैधानिक निकायमा शुद्धता हुनुपर्ने स्पष्ट पार्नुभयो ।

Comment


Related News

Latest News

Trending News