मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपालले विभिन्न ६ बुँदै माग अघि सार्दै बिहीवारदेखि जनकपुरधामाट काठमाडौसम्मको पैदल यात्रा ‘न्याय मार्च’ शुरु गरेको छ ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार मिटरब्याजविरुद्ध किसान मजदूर आन्दोलन समितिका अध्यक्ष अवधेश कुशवाहाको नेतृत्वमा पैदल मार्चपास जनकपुरधामको तिरहुतिया गाछीबाट सुरु भएको हो । करीब १५ दिनको लामो पैदल यात्रा पश्चात काठमाडौ पुग्ने लक्ष्य रहेको अध्यक्ष कुशवाहाले जनाएको छ । उनका अनुसार सो पैदल मार्चपासमा दुईसयभन्दा बढी मिटरब्याज पिडीत हिँड्दै काठमाडौसम्म पुग्नेछ ।
आन्दोलनमा मिटरब्याज पीडितहरू सहभागी हुने र काठमाडौं पुगेर सरकारमाथि दबाब सिर्जना गर्ने तयारी रहेको अध्यक्ष कुशवाहाले बताए । सरकारले मिटरब्याज अपराध र त्यसबाट उत्पन्न समस्याको समाधानका लागि हालसम्म तीन/तीन वटा आयोग र एउटा कार्यदल गठन गरेपनि प्रभावकारी पहल हुन नसक्दा यो तेश्रो पैदल मार्च निकाल्नु परेको उनले बताए ।
मिटरब्याज पिडीतहरु काठमाडौ पुगेर सरकार समक्ष आफ्ना पीडा राख्नेछ । सरकारले त्यसमा सुनुवाई नगरे काठमाडौमा बसेर धर्ना, प्रदर्शन लगायतका सशक्त आन्दोलनका कार्यक्रमहरु अघि बढाउने समितिका सचिव मनोज पासवानले बताए । उनले मिटरब्याज पीडितका पक्षमा सरकारले ठोस कदम नचालिए देशव्यापी संघर्ष थप सशक्त बनाइने चेतावनी दिएका छन् ।
आन्दोलन समितिले फर्जी लिखत खारेज गर, मिटरब्याज विरुद्धको शक्तिशाली ऐन निर्माण गर, मिटरब्याज विरुद्ध न्यायधिकरण गठन गर, सुदखोरको सम्पति छानबीन गर, पिडीतको सम्पति फिर्ता गर, न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित गर लगायतका विभिन्न ६ बुँदे माग अघि सारेका हुन ।
अध्यक्ष कुशवाहाको अध्यक्षतामा बितेको शनिवार चितवनमा बसेको बैठकले न्याय मार्चलाई शान्तिपूर्ण रूपमा अघि बढाउने निर्णय गरिएको थियो । सो बैठकमा संयुक्त जनअधिकार मोर्चाका प्रतिनिधि, भगिनी संगठनका सदस्य तथा सचिवालयका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
मधेश प्रदेशको राजधानी जनकपुरधामबाट संघीय राजधानी काठमाडौंसम्म पैदल यात्रा गर्दै न्यायिक संघर्षलाई राष्ट्रिय बहसको विषय बनाउने आन्दोलन समितिको तयारी रहेको उनले जनाएको छ । आन्दोलनले यसअघि पनि मिटरब्याज पीडितको न्यायका लागि विभिन्न चरणका प्रदर्शन, अदालत घेराउ र जनजागरण अभियान सञ्चालन गर्दै आएको छ ।

