वीरगञ्ज महानगरपालिकाले वितरण गर्दै आएको लोककल्याणकारी सूचना अबदेखि स्थानीय साप्ताहिक पत्रपत्रिकालाई पनि दिने भन्ने निर्णय गरेको छ ।
आमसञ्चार माध्यम प्रवद्र्धन तथा नियमन समितिले यसअघिको व्यवस्था संशोधन गर्दै साप्ताहिक पत्रपत्रिकालाई पनि सूचीकरणका लागि आह्वान गर्ने निर्णय गरेसँगै स्थानीय सञ्चारमाध्यमले नयाँ अवसर पाएको छ । यसअघि महानगरपालिकाले साप्ताहिक पत्रपत्रिकालाई सूचीकरण नगर्ने व्यवस्था गरेको थियो। त्यसका कारण स्थानीय साप्ताहिक सञ्चारमाध्यमहरू लोककल्याणकारी सूचना प्रकाशन गर्ने अधिकारबाट वञ्चित भएका थिए ।
नेपाल पत्रकार महासंघ लगायत सञ्चार क्षेत्रका सरोकारवालाले उक्त व्यवस्था महानगरकै आमसञ्चारसम्बन्धी ऐन तथा प्रचलित कानुनी व्यवस्थाविपरीत रहेको भन्दै संशोधन गर्न निरन्तर माग गर्दै आएका थिए । आमसञ्चार माध्यम प्रवद्र्धन तथा नियमन समितिका संयोजक शत्रुधन नेपालको अध्यक्षतामा बसेको बैठकले अघिल्लो निर्णय परिमार्जन गर्दै स्थानीय साप्ताहिक पत्रपत्रिकालाई पनि सूचीकरण प्रक्रियामा सहभागी गराउने निर्णय गरेको हो ।
वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले स्थानीय सञ्चारमाध्यमको संरक्षण, प्रवद्र्धन र सुदृढीकरणमा महानगर सधैँ सकारात्मक रहेको बताए । उनका अनुसार सञ्चारमाध्यम लोकतन्त्र र सुशासनको महत्वपूर्ण आधार भएकाले कानुनले व्यवस्था गरेअनुसार सबै सञ्चारमाध्यमलाई समान अवसर उपलब्ध गराउने नीति महानगरले अवलम्बन गरेको छ ।
महानगरपालिकाको निर्णयसँगै वीरगञ्जबाट नियमित रूपमा प्रकाशन हुँदै आएका दर्जनौँ स्थानीय साप्ताहिक पत्रपत्रिका अब सूचीकरण प्रक्रियामा सहभागी हुन पाउने भएका छन् । यसबाट ती सञ्चारमाध्यम तथा तिनमा आबद्ध श्रमजीवी पत्रकार प्रत्यक्ष रूपमा लाभान्वित हुने उनको भनाई छ ।

