२०८३ असार २८, आईतवार ०७:२८

नेपालमा पछिल्ला केही दिनयता आत्मदाह प्रयासका घटना लगातार सार्वजनिक भएपछि यसले समाज, राज्यका निकाय र मानसिक स्वास्थ्यसंग सम्बन्धित प्रश्नलाई फेरि एकपटक गम्भीर रूपमा उठाएको छ ।

पछिल्लो तीन दिनभित्र काठमाण्डु र सर्लाहीमा भएका तीन छुट्टाछुट्टै घटनामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने एक जनाको अवस्था अझै गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाहरूको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार सर्लाहीको गोडैता नगरपालिका–१० का ४२ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सर्लाही प्रहरीका अनुसार आगोले उनको शरीरको अधिकांश भाग जलेको छ । प्रारम्भिक उपचार मलंगवा अस्पतालमा गरिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डु लगिएको छ ।

घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । शुक्रबार नै काठमाण्डुको बुद्धनगरमा ४५ वर्षीय अश्विन राउतको पनि उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ । काठमाण्डु प्रहरीका अनुसार राउतले बिहान आफ्नै घरको भान्सामा शरीरमा आगो लगाएका थिए । गम्भीर अवस्थामा अस्पताल पु¥याइएका राउतको शरीर करिब ५५ प्रतिशत जलेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवाद घटनाको एउटा सम्भावित कारणका रूपमा देखिएको प्रहरीले जनाएको छ

जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार घटनाका बेला परिवारका अन्य सदस्य घरमा थिएनन् र अघिल्लो दिन छोराबीच सामान्य विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसअघि बिहीबार काठमाण्डुमा मुगुका गणेश नेपालीले पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा उनको मृत्यु भयो । घटना अघि काठमाण्डु नगर प्रहरीसंग विवाद भएको विषय सार्वजनिक भएको भए पनि त्यसले घटनामा कति भूमिका खेल्यो भन्ने विषय अनुसन्धानकै क्रममा रहेको जनाएको छ । लगातार भएका आत्महत्या प्रयाससहितको घटनाले व्यक्तिगत, पारिवारिक, सामाजिक, आर्थिक, तथा मनोसामाजिक पक्षहरूको समग्र समीक्षा आवश्यक रहेको देखिन्छ । आत्महत्या वा आत्मदाह प्रयास जस्ता घटनाको एउटै कारण हुँदैन ।

मानसिक स्वास्थ्यका समस्या, पारिवारिक तनाव, आर्थिक कठिनाइ, सामाजिक अपमानको अनुभूति, कानुनी वा प्रशासनिक प्रक्रियाबाट उत्पन्न दबाब तथा अन्य व्यक्तिगत परिस्थितिहरूले संयुक्त रूपमा प्रभाव पार्न सक्छन् । त्यसैले कुनै एक घटना वा केही घटनाका आधारमा कुनै एकमात्र कारणलाई जिम्मेवार ठहर गर्नु तथ्यगत रूपमा उचित हुँदैन ।

यद्यपि, नागरिकहरूले राज्यका सेवा, प्रशासनिक व्यवहार, रोजगारी, व्यवसाय सञ्चालन, सामाजिक सुरक्षा र न्यायको अनुभूतिसंग सम्बन्धित विभिन्न गुनासा निरन्तर उठाउँदै आएका छन् । सार्वजनिक निकायसंगको व्यवहार, आर्थिक दबाब, बढ्दो जीवनयापनको लागत तथा स्वरोजगारमा संलग्न साना व्यवसायीहरूले भोग्ने चुनौतीबारे पनि बेलाबखत बहस हुँदै आएको छ ।

यस्ता विषयमा सम्बन्धित निकायले संवेदनशील भएर नागरिकको विश्वास बढाउने, सेवा प्रवाहलाई सहज बनाउने तथा मनोसामाजिक सहयोगको पहुँच विस्तार गर्ने आवश्यकता विज्ञहरूले औंल्याउँदै आएका छन् । पछिल्ला घटनाले मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार, संकटमा रहेका व्यक्तिलाई समयमै परामर्श र सहयोग उपलब्ध गराउने व्यवस्था तथा परिवार र समुदायको सहयोगी भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि देखाएको मानवअधिकारकर्मी वीरेन्द्र कर्णले बताए ।

यसका साथै प्रत्येक घटनाको निष्पक्ष अनुसन्धान गरी वास्तविक कारण सार्वजनिक गर्नु, अफवाह वा अपुष्ट दाबीभन्दा तथ्यमा आधारित निष्कर्ष प्रस्तुत गर्नु राज्यका निकायको जिम्मेवारी रहेको उनको भनाइ छ । यस्ता दुःखद घटनाबाट भविष्यमा थप क्षति हुन नदिन सरकार, समाज, परिवार र सम्बन्धित सबै पक्षले समन्वयात्मक रूपमा रोकथाम, सचेतना र सहयोगका उपायहरू सुदृढ बनाउनु आवश्यक देखिएको मानवअधिकारकर्मी कर्ण बताउँछन् ।

Comment


Related News