भौतिक पूर्वाधार विकास कार्यालय, सिरहाद्वारा नाला निर्माण कार्य विद्युत् पोल स्थानान्तरण नहुँदा अधुरो रहेको भन्दै स्थानीयले सिरहाको चोहर्वावासी गुनासो गरेका छन् ।
सिरहाको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोक चोहर्वा बजारका स्थानीयका अनुसार पटक–पटक मौखिक तथा लिखित आग्रह गर्दा पनि नेपाल विद्युत् प्राधिकरणबाट आवश्यक पहल हुन सकेको छैन । चोहर्वा बजार विकास समितिका अध्यक्ष नागेन्द्रप्रसाद सिंहले वडाको सिफारिससहित नेपाल विद्युत् प्राधिकरण मिर्चैयामा पोल हटाउन निवेदन दर्ता गराएको महिनौँ बितिसक्दा पनि कुनै सुनुवाइ नभएको बताए ।
उनले भने, ‘ठाउँ–ठाउँमा रहेका पोलका कारण नालाको जोड्ने काम हुन सकेको छैन । नाला नजोडिँदा पानी जम्ने, दुर्गन्ध फैलिने तथा सर्वसाधारण र बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असरपर्ने जोखिम बढने देखिएको छ ।’ स्थानीय शिवकुमार यादवले नाला निर्माणपछि बजार व्यवस्थित हुने अपेक्षा गरे पनि अधुरो निर्माणका कारण समस्या झन् बढेको बताए । उनका अनुसार पानी जम्दा आवतजावत र किनमेलमा समेत कठिनाइ भइरहेको छ ।
भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियर शेखरमणि सिंहले विद्युत् पोल नसारिएकै कारण बाँकी काम रोकिएको स्वीकार गर्दै पोल स्थानान्तरण भएलगत्तै नालाको जोड्ने कार्य सुरु गरिने जानकारी दिए । भौतिक पूर्वाधार मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि उक्त योजनाको ठेक्का नं. ४७ अन्तर्गत ४५ लाख रुपैयाँको लागत अनुमान स्वीकृत गरेको थियो । सोही योजना अन्तर्गत मिर्चैयास्थित चन्द्र कन्सल्टेन्सी एन्ड कन्स्ट्रक्सन कम्पनीले भ्याटसहित ३८ लाख ७९ हजार ७८ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।
कम्पनीले हालसम्म २९ लाख ८ हजार २७८ रुपैयाँ भुक्तानी पाइसकेको कार्यालयले जनाएको छ । नेपाल विधुत प्राधिकरण मिर्चैया शाखाका सुपरभाइजर जीवछ शर्माले निवेदन दिएर मात्रै काम नहुने बताए । ‘निवेदन दिनेले समय–समयमा ताकेता गर्नुपर्ने हुन्छ । दिनमा ५ देखि १० वटा यस्ता निवेदन आउँछन् । कर्मचारीहरू पनि फिल्डमै हुन्छन् । समन्वय नभएको कारण ढिलो भएको हुनसक्छ,’ उनले भने ।

