२०८३ असार २८, आईतवार ०७:४५

जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाको विभिन्न क्षेत्रमा खडेरी र खानेपानीको समस्या देखिएपछिसरकारी अनुदानमा जडान गरिएका भूमिगत पानीका स्रोतबाट चर्को शुल्क असुल नगर्न सम्बन्धित पक्षलाई चेतावनी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले एक सूचना जारी गरी यस्तो चेतावनी दिएका हुन । सूचनामा कमला नगरपालिका, सबैला नगरपालिका, शहीदनगर नगरपालिका लगायतका केही स्थानीय तहका वडा तथा बस्तीमा पानीका मुहान सुक्नुका साथै बोरिङबाट समेत पानी नआउँदा खानेपानीको समस्या उत्पन्न भएको उल्लेख गरिएको छ ।

प्रशासनका अनुसार प्रभावित क्षेत्रमा तत्काल पिउने पानीको व्यवस्था मिलाउन सम्बन्धित वडा, स्थानीय तह तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग समन्वय गरी आवश्यक पहल भइरहेको छ । विगतमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा विभिन्न दातृ निकायको अनुदानमा जडान गरिएका पम्पसेट, बोरिङ, डिप बोरिङ र इनारजस्ता सामुदायिक खानेपानी तथा सिँचाइका स्रोतबाट केही जग्गाधनीले अत्यधिक शुल्क लिएर मात्र पानी उपलब्ध गराउने गरेको गुनासो प्रशासनमा पुगेको जनाएको छ ।

सरकारी अनुदानमा निर्माण भएका यस्ता संरचनाबाट समुदायले निर्धारण गरेको सर्वसुलभ दरमै पानी तथा सिँचाइ सुविधा उपलब्ध गराउन आग्रह समेत प्रशासनले गरेको छ । व्यक्तिगत लाभ वा नाफा कमाउने उद्देश्यले चर्को शुल्क असुलेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको हो ।

Comment


Related News