२०८३ असार २८, आईतवार ०७:५२

संघीय सरकारले वीरगञ्जको मुख्य व्यापारिक मार्ग विस्तारका लागि १ अर्ब २ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सडक डिभिजन कार्यालय, हेटौडाका अनुसार गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक विस्तार कार्यका लागि उक्त रकम छुट् याइएको हो ।

कार्यालय प्रमुख इन्जिनियर किरण कार्कीका अनुसार सडक विस्तार आयोजनाको सम्पूर्ण प्रक्रिया योजना अनुसार अघि बढिरहेको छ । उनले संघीय सरकारबाट बजेट प्राप्त भइसकेको र बहुवर्षीय योजनाअन्तर्गत आगामी साउन महिनाभित्रै ठेक्का सम्झौता गर्ने तयारी रहेको जानकारी दिए । संघीय सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत औद्योगिक करिडोर -व्यापारिक मार्ग) विस्तार आयोजनाअन्तर्गत उक्त रकम विनियोजन गरेको हो ।

गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक विस्तारका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन -डीपीआर) समेत तयार भइसकेको सडक डिभिजन कार्यालयले जनाएको छ । सडक विस्तारको प्रक्रिया सुरु भएसँगै कार्यालयले त्रिभुवन राजपथअन्तर्गत मितेरी पुलदेखि गण्डक चोकसम्म सडकको केन्द्ररेखाबाट दायाँ–बायाँ २५/२५ मिटर क्षेत्रभित्र रहेका संरचना हटाउने अभियान थालेको थियो। गत वैशाख ६ गतेदेखि सडक किनारमा रहेका संरचना हटाउने कार्य सुरु गरिएको थियो भने त्यसअघि अल्पसूचना जारी गरी सम्बन्धित पक्षलाई संरचना खाली गर्न आग्रह गरिएको थियो ।

यसैबीच, सडक सीमाभित्र अझै बाँकी रहेका संरणा पाँच दिनभित्र हटाउन भन्दै असार २ गते पुनः सूचना जारी गरिएको थियो । साथै, क्षतिग्रस्त भवनमा बसोबास तथा व्यापार सञ्चालन गरिरहेका व्यक्तिलाई जोखिम नलिन भनेको थियो । तर उक्त सूचनापछि वीरगञ्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिले संरचना हटाउन थप ३५ दिनको समय माग गर्दै निवेदन दिएको छ ।

त्यसैगरी पर्सा निर्वाचन क्षेत्र नं. १ का सांसद हरि पन्तको सचिवालयबाट समेत १५ दिन थप समय दिन आग्रह गरिएको पत्र प्राप्त भएको सडक डिभिजन कार्यालयले जनाएको छ । यी मागलाई मध्यनजर गर्दै तत्कालका लागि संरचना हटाउने कार्य स्थगित गरिएको इन्जिनियर कार्कीले बताए । उनका अनुसार अब थप ३५ दिनपछि सडक सीमाभित्र रहेका संरचनाका विषयमा आवश्यक निर्णय गरिनेछ ।

Comment


Related News