अत्यधिक गर्मीका बीच पंखाको भरमा रात बिताइरहेका मधेश प्रदेशका सर्वसाधारण पछिल्ला दिनमा बारम्बार हुने विद्युत ट्रिपिङका कारण थप सास्तीमा परेका छन् । विशेषगरी रातिको समयमा पटक–पटक विद्युत् अवरुद्ध हुने र लामो समयपछि मात्रै आपूर्ति पुनः शुरु हुने समस्याले जनजीवन प्रभावित बनेको छ । यसले सर्वसाधारणको निन्द्रा बिथोलिनुका साथै दैनिक जीवन, व्यवसाय र औद्योगिक गतिविधिमा समेत प्रत्यक्ष असर पारेको छ ।
जनकपुरधामसहित मधेश प्रदेशका आठवटै जिल्लामा एक सातायता रातिको समयमा विद्युत् ट्रिपिङको समस्या झन् बढेको स्थानीयको गुनासो छ । केही मिनेटका लागि बत्ती जाने मात्र नभइ कतिपय स्थानमा घण्टौँसम्म विद्युत आपूर्ति अवरुद्ध हुने गरेको छ । अत्यधिक गर्मीका कारण घरभित्र बस्नसमेत कठिन भइरहेको अवस्थामा विद्युत् सेवा अविश्वसनीय बन्दा सर्वसाधारणले ठूलो सास्ती व्यहोर्नुपरेको छ ।
समस्या चर्किदै गएपछि आक्रोशित स्थानीयले नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रमा पुगेर घेराउसमेत गरेका छन् । उनीहरूले नियमित विद्युत आपूर्तिको माग गर्दै तत्काल समस्या समाधान गर्न दबाब दिएका छन् । तर स्थानीयको विरोध र दबाबका बाबजुद विद्युत् सेवाको गुणस्तरमा अपेक्षित सुधार आउन सकेको छैन ।
वीरगञ्ज–घडिअर्वाका स्थानीय मुन्ना सर्राफका अनुसार विशेषगरी रातिको समयमा अत्यधिक ट्रिपिङ हुने भएकाले सर्वसाधारण सबैभन्दा बढी मारमा परेका छन् । उनले जनाए अनुसार आर्थिक रूपमा सक्षम परिवारले इन्भर्टर वा एयर कन्डिसनर (एसी) जस्ता वैकल्पिक सुविधा प्रयोग गरेर केही राहत पाए पनि मध्यम तथा न्यून आय भएका परिवारले गर्मी र अन्धकार दुवै सहन बाध्य भएका छन् । ‘घरमा इन्भर्टर राख्ने वा एसी चलाउने क्षमता भएकालाई त्यति समस्या नहोला, ‘ उनले भने, ‘तर यी दुवै सुविधा लिन नसक्ने परिवारका लागि रात बिताउनै निकै कठिन भएको छ ।’ हरपतगञ्जका दामोदर प्रसाद यादवले ग्रामीण क्षेत्रमा एसी र इन्भर्टर प्रयोग गर्नेको संख्या कम भए पनि विद्युत् आपूर्तिमा हुने अनियमितताको असर गाउँसम्म पुगेको बताए। उनका अनुसार ग्रामीण बासिन्दालाई धेरै विद्युत आवश्यक नभए पनि नियमित र भरपर्दो आपूर्ति भने अत्यावश्यक छ ।
‘हामीलाई सहरजस्तो धेरै विद्युत् चाहिएको होइन, नियमित आपूर्ति मात्रै भए पुग्छ, जनकपुरधाम वडा नम्बर १० का किसान मण्डलले भने, ‘तर त्यो पनि सहज रूपमा नपाउँदा निकै सास्ती भएको छ । रातिको समयमा तीनदेखि चार पटकसम्म बत्ती जाने गरेको छ ।’ विद्युत् ट्रिपिङको समस्या घरेलु उपभोक्तामा मात्रै सीमित छैन । वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालका अनुसार पछिल्लो समय जगदम्बा स्टिललगायत औद्योगिक क्षेत्र आसपासमा समेत ट्रिपिङको समस्या बढेको छ । उद्योगहरूमा पहिलेदेखि नै विद्युत् अवरोधको समस्या रहँदै आए पनि पछिल्ला दिनमा घरेलु उपभोक्ता अझ बढी प्रभावित भएको उनको भनाइ छ । नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख इञ्जिनियर विजय महतोले अत्यधिक गर्मीका कारण विद्युत् वितरण प्रणालीमा अस्वाभाविक रूपमा भार बढेकाले ट्रिपिङको समस्या चर्किएको बताए। उनका अनुसार पछिल्ला वर्षहरूमा घरघरमा एसी जडान गर्ने क्रम तीव्र रूपमा बढेसँगै ट्रान्सफर्मरमाथि क्षमताभन्दा बढी लोड परेको छ । ‘एउटा ट्रान्सफर्मरले सीमित संख्यामा मात्रै एसीको भार थेग्न सक्छ,’ उनले भने, ‘धेरै ठाउँमा क्षमताभन्दा बढी लोड हुँदा ट्रान्सफर्मरका तीन फेजमध्ये एउटा फेज निष्क्रिय हुन्छ र एमसीबी ट्रिप हुने गर्छ। त्यसकै कारण पटक–पटक विद्युत अवरुद्ध हुन्छ ।’
उनका अनुसार वीरगञ्जमा बढ्दो जनघनत्व, अव्यवस्थित सहरीकरण तथा पुराना विद्युत् संरचनाले समस्या थप जटिल बनाएको छ । मर्मत–सम्भार, नयाँ लाइन विस्तार तथा ट्रान्सफर्मर स्तरोन्नति गर्न आवश्यक ठाउँको अभाव, स्थानीयस्तरमा हुने अवरोध र संरचनागत चुनौतीका कारण वितरण प्रणालीलाई प्रभावकारी बनाउन कठिन भइरहेको उनले बताए । उनका अनुसार हाल देशमा विद्युत उत्पादन वा समग्र आपूर्तिमा कुनै अभाव छैन ।
समस्या मुख्यतः वितरण प्रणालीमा अत्यधिक भार पर्नु, पुराना उपकरणको क्षमता सीमित हुनु र पूर्वाधार विस्तारमा देखिएका कठिनाइसँग सम्बन्धित छ । प्रमुख इञ्जिनियर महतोले वितरण प्रणाली सुधारका लागि स्थानीयवासीको सहयोग आवश्यक रहेको उल्लेख गर्दै गर्मीयामभरि ट्रिपिङको समस्या पूर्ण रूपमा अन्त्य गर्न चुनौतीपूर्ण रहेको स्वीकार गरे । उनले दीर्घकालीन समाधानका लागि नयाँ ट्रान्सफर्मर जडान, वितरण लाइनको स्तरोन्नति तथा पूर्वाधार विस्तार आवश्यक रहेको बताए ।
अत्यधिक गर्मीका बीच बारम्बार हुने विद्युत् ट्रिपिङले मधेश प्रदेशका लाखौँ उपभोक्ताको दैनिक जीवन प्रभावित भएको छ । नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल अल्पकालीन व्यवस्थापनसँगै दीर्घकालीन पूर्वाधार सुधारमा ध्यान दिनुपर्ने आवश्यकता स्थानीयले औँल्याएका छन् ।

