एनसेलले नयाँ प्रविधि अपनाउने र सेवामा स्तरोन्नती गर्ने आफ्नो योजनालाई निरन्तरता दिँदै विभिन्न चार जिल्लाका ३५ स्थानिय तहमा सोमबारदेखि थ्रीजी सेवा बन्द गर्ने भएको छ । ‘भ्वाइस ओभर लङ्ग टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिसँगै फोरजी नेटवर्कलाई झन् बलियो बनाउने र भ्वाइसका साथै डेटा सेवाको अनुभव अझै परिस्कृत गर्न थ्रीजी बन्द गर्दै लगिएको कम्पनीले जनाएको छ ।
थ्रीजी बन्दसँगै देशको झण्डै ९५ प्रतिशत जनसंख्यामाझ पहिला नै पुगिसकेको फोरजीमा आधारित भोल्टेमार्फत गुणस्तरीय भ्वाइसका साथै मोबाइल ब्रोडव्याण्ड सेवा प्रदान गर्ने एनसेलको योजना रहेको छ । भोल्टेको फाइदा लिन फोरजी चल्ने मोबाइल र सीम प्रयोग गर्ने ग्राहकले आफ्नो मोबाइलमा भोल्टे सेटिङ्मा भोल्टे अन गर्नु पर्दछ ।
सोमबारबाट पर्सा, इलाम, पाँचथर र दाङ्का विभिन्न स्थानिय तहमा थ्रीजी बन्द गर्न लागिएको हो । यसो गर्दा अब थ्रीजी चलाउने ग्राहकले अझ गुणस्तरीय सेवा लिन फोरजी चलाउन पर्ने हुन्छ । कतिपय ग्राहकले फोरजी चल्ने सिमकार्ड लिएपछि र फोरजी नै चल्ने सेटमा सिमकार्ड प्रयोग गरिरहेका भए पनि थ्रीजी नै चलाइरहेका पनि हुन्छन् ।
थ्रीजी नेटवर्क बन्द हुनु नयाँ प्रविधिमा अपग्रेड हुने एक प्रक्रिया हो । प्रविधिमा अपग्रेड भएपछि उन्नत प्रविधिको प्रयोगसँगै ग्राहकहरूले उही शुल्कमा भ्वाइस अनि डेटामा झन् गुणस्तरीय कनेक्टिभिटीको अनुभूति गर्न सक्छन् ।
एनसेलले आफूले घोषणा गरिएअनुसारै देशभर चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गर्ने योजना कार्यान्वयन गर्ने बताउँदै आएको छ । यसै योजना अन्तर्गत तीन प्रदेशका चार जिल्लाका २१५ भन्दा बढि टावरहरुमा कम्पनीले असार २९ गतेबाट थ्रीजी सेवा बन्द गर्दैछ । यी जिल्लाका सम्बन्धित स्थानहरुमा बसोबास गर्ने र फोरजीमा अपग्रेड हुन बाँकी ग्राहकहरूलाई भोल्टे सेवा लिनका लागि आग्रह गरेको छ ।

