२०८३ असार २९, सोमबार १५:४९

भारतको बिहारस्थित सशस्त्र सीमा बल (एसएसबी) ७१ बटालियन मोतिहारीले नेपाल–भारत सीमामा तस्करी नियन्त्रणका क्रममा गरेको दुई अलग–अलग कारबाहीमा करिब ४ किलो गाँजा, ६० बोरा मकै र एक बोलेरो पिकअप बरामद गरेको छ। गाँजा तस्करीको आरोपमा एक नेपाली नागरिकलाई पनि पक्राउ गरिएको छ।

एसएसबीका प्रवक्ता विनीत कुमार सिंहका अनुसार आइतबार प्राप्त गोप्य सूचनाका आधारमा महुआवा बीओपी बिन्ध्यवासिनीको ‘ए’ कम्पनी र महुआवा प्रहरीको संयुक्त टोलीले बिन्ध्यवासिनी पुल नजिक भारततर्फ करिब एक किलोमिटर भित्र विशेष निगरानी सञ्चालन गरेको थियो।

कारबाहीका क्रममा नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको ३ किलो ९९० ग्राम गाँजा बरामद गरिएको हो। उक्त घटनामा बारा जिल्लाको कवही गाउँ निवासी २० वर्षीय रोहित कुमार साह पक्राउ परेका छन्। बरामद गाँजा र पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि महुआवा प्रहरीको जिम्मा लगाइएको एसएसबीले जनाएको छ।

यसैबीच, सोही दिन साँझ एसएसबीको ‘जी’ कम्पनी, जलगावा बीओपीले अर्को विशेष गस्तीका क्रममा भारत–नेपाल सीमा स्तम्भ नम्बर ३६८ नजिक बरेला गाउँ क्षेत्रमा बेवारिसे अवस्थामा रहेको बीआर–०६–जीएफ–०९०८ नम्बरको महिन्द्रा बोलेरो पिकअप फेला पारेको थियो।

पिकअपको जाँच गर्दा त्यसमा लोड गरिएको ६० बोरा मकै बरामद भएको एसएसबीले जनाएको छ। घटनास्थलमा गाडी वा सामानको दाबी गर्न कोही नआएपछि सवारीसाधनसहित मकै नियन्त्रणमा लिइएको थियो।

प्रारम्भिक अनुसन्धानले मकै नेपालबाट अवैध रूपमा भारततर्फ तस्करी गरिएको देखिएको एसएसबीको भनाइ छ। बरामद बोलेरो पिकअप र मकै आवश्यक कानुनी प्रक्रिया पूरा गर्न मोतिहारी भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ।

Comment


Related News

Latest News

Trending News