२०८३ असार २९, सोमबार १५:५७

नेपाल–भारत सीमामा लागूऔषध तस्करी नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायले निगरानी कडा बनाइरहेका बेला भारतको सीमावर्ती सहर रक्सौलबाट दुई नेपालीसहित तीन जना ब्राउन सुगरसहित पक्राउ परेका छन्। घटनाले नेपालको सुरक्षा जाँच प्रणालीको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ।

भारतको बिहार राज्यस्थित रक्सौल प्रहरीले गोप्य सूचनाका आधारमा आइतबार स्टेशन रोड क्षेत्रमा विशेष छापा अभियान सञ्चालन गरेको थियो। सो क्रममा ९।६० ग्राम ब्राउन सुगर ९स्म्याक० सहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ का २२ वर्षीय दिवेश थिङ, २४ वर्षीय शागर कार्की तथा भारतका स्थानीय हर्जन आलम पक्राउ परेका हुन्।

भारतीय प्रहरीले उनीहरूविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। लागूऔषध कहाँबाट ल्याइएको हो, यसको आपूर्ति सञ्जालमा को–को संलग्न छन् भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

घटनाले अर्को गम्भीर प्रश्न पनि उठाएको छ। हेटौंडाबाट भारत प्रवेश गर्न पथलैया, वीरगञ्ज, बारा, रौतहटलगायत विभिन्न स्थानका सुरक्षा जाँच पार गर्नुपर्ने हुन्छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका दर्जनौँ सुरक्षा पोस्ट हुँदाहुँदै लागूऔषध बोकेका व्यक्तिहरू भारतीय भूमिसम्म कसरी पुगेरु यसको जवाफ खोज्नुपर्ने आवश्यकता देखिएको छ।

यो पहिलो घटना भने होइन। पछिल्ला महिनाहरूमा पनि नेपालको सीमावर्ती नाकाबाट तस्करी गरी भारत पुर्‍याइएका लागूऔषध भारतीय सुरक्षाकर्मीले पटक–पटक बरामद गर्दै आएका छन्।

पूर्वी चम्पारणका प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातको नेतृत्वमा सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत जुन महिनामा मात्रै ५४९ किलोग्राम गाँजा, १२ किलोग्राम अफिम, ५७ किलोग्राम डोडा ९पोस्ता० तथा २० लाख ३६ हजार १२७ लिटर अवैध मदिरा बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ।

पूर्वी चम्पारण जिल्लाको सीमा नेपालका पर्सा, बारा र रौतहटका अधिकांश नाकासँग जोडिएको छ। यति ठूलो परिमाणमा लागूऔषध र अवैध मदिरा भारतीय क्षेत्रमा बरामद हुनु सीमापार तस्करी अझै सक्रिय रहेको संकेतका रूपमा हेरिएको छ।

सुरक्षा विज्ञहरूका अनुसार सीमामा चेकजाँचको संख्या मात्र बढाएर पर्याप्त हुँदैन। सूचना आदानप्रदान, प्रविधिमैत्री निगरानी, जोखिमका आधारमा हुने जाँच र दुवै देशका सुरक्षा निकायबीच प्रभावकारी समन्वय नभएसम्म लागूऔषध तस्करी नियन्त्रण चुनौतीपूर्ण रहनेछ।

यस घटनाबारे नेपाली सुरक्षा निकायले हालसम्म औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। तर सीमाबाट हुने लागूऔषध ओसारपसारका घटनाले सुरक्षा संयन्त्रको प्रभावकारितामाथि उठिरहेका प्रश्नहरूको जवाफ सम्बन्धित निकायले दिनुपर्ने आवश्यकता भने झन् बढ्दै गएको छ।

 

Comment


Related News

Latest News

Trending News