सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी बिगतका बिभिन्न आयोगहरुको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन -मिटर ब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरू गृह मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
बैठकले विपद् खोज तथा उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ भने नेपाल वायुसेवा निगमको सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको काम समेत गर्ने गरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो ।
साथै बैठकले बिउ बिजन -पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हासिल गर्न सफल खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गरिने निर्णय समेत भएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
प्रवक्ता पोखरेलले बिभिन्न सञ्चारमाध्यम अगाडी गरिएको शंकास्पद पार्किङको घटनामा जोसुकै भएपनि कानून बमोजिम कारवाही हुने स्पष्ट पार्नुभयो ।

