२०८३ असार ३१, बुधबार ०७:१२

मधेश प्रदेशका राजधानी समेत हिन्दू धर्मावलम्बीहरूको प्रमुख आस्थास्थलको रुपमा रहेको जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा रहेको विवाह मण्डप तथा संग्राहालयमा तालाबन्दी गरिएको छ । माता सीताको जन्मदेखि विवाहसम्मको जीवनचरित्र समेटिएको विद्युतीय संग्रहालयमा इतिहासमै पहिलोपटक तालाबन्दी गरिएको छ ।

टिकट शुल्कलाई लिएर प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो र मन्दिर व्यवस्थापनबीच विवाद उत्पन्न भएपछि दुवै संरचना बन्द गरिएका हुन् । जानकी मन्दिर व्यवस्थापनले विवाह मण्डप र संग्रहालय अवलोकनका लागि टिकटको व्यवस्था गर्दै आएको थियो । तर मन्त्री महतोले ती संरचनामा प्रवेश शुल्क लिनु अनुचित भएको भन्दै टिकट काटिरहेका कर्मचारीबाट टिकट खोसेपछि मन्दिर व्यवस्थापन आक्रोशित बनेको हो । त्यसको विरोधस्वरूप व्यवस्थापन पक्षले शुक्रबारदेखि विवाह मण्डप र संग्रहालयमा तालाबन्दी गरेको जनाएको छ ।

तालाबन्दीका कारण दर्शन तथा अवलोकनका लागि आएका स्वदेशी र विदेशी श्रद्धालु तथा पर्यटक निराश बनेका छन् । स्थानीयवासीका अनुसार धार्मिक तथा ऐतिहासिक महत्व बोकेका यी स्थल बन्द हुँदा भक्तजनले असहज अवस्था भोग्नुपरेको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले मन्त्री महतोले कुनै पूर्वसमन्वय वा औपचारिक प्रक्रिया नअपनाई ‘गुण्डाशैली’मा टिकट खोसेको आरोप लगाएका छन्। उनका अनुसार मन्दिरको पूजा–पाठ, सरसफाइ, संरक्षण तथा अन्य दैनिक खर्च व्यवस्थापनका लागि प्रत्येक वर्ष विवाह मण्डप र संग्रहालय सञ्चालनको जिम्मा ठेक्कामार्फत दिइँदै आएको छ ।

महन्थ वैष्णवले संग्रहालय प्रवेशका लागि १५ रुपैयाँ र विवाह मण्डपका लागि १० रुपैयाँ टिकट शुल्क लिने व्यवस्था लामो समयदेखि चल्दै आएको जानकारी दिए। उनले संघ, प्रदेश वा स्थानीय कुनै पनि सरकारले मन्दिर सञ्चालन तथा व्यवस्थापनका लागि हालसम्म एक रुपैयाँसमेत आर्थिक सहयोग नगरेको दाबी गर्दै यदि खर्चको विवरण आवश्यक भएको भए कार्यालयमै आएर माग्न सकिने बताए । त्यसो नगरी प्रत्यक्ष रूपमा टिकट खोस्नु मन्त्रीको पदअनुकूल व्यवहार नभएको उनको भनाइ छ ।

उता प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले भने सार्वजनिक धार्मिक सम्पदामा प्रवेश शुल्क लिनु गलत भएको जिकिर गरेका छन्। उनले पटक–पटक शुल्क हटाउन आग्रह गर्दा पनि मन्दिर व्यवस्थापनले बेवास्ता गरेपछि आफूले टिकट नियन्त्रणमा लिएको प्रतिक्रिया दिएका छन् । उनका अनुसार जानकी मन्दिर कुनै व्यक्ति वा संस्थाको निजी सम्पत्ति नभई सार्वजनिक सम्पदा भएकाले श्रद्धालुसँग प्रवेश शुल्क उठाउनु उचित होइन।

पूजा खर्च व्यवस्थापनका नाममा ठेक्का लगाइएको दाबीप्रति पनि उनले प्रश्न उठाउँदै त्यसका लागि कसको स्वीकृति वा समन्वयमा ठेक्का दिइएको हो भन्ने स्पष्ट हुनुपर्ने बताए। साथै, मन्दिरले हालसम्म आफ्नो आय–व्यय सार्वजनिक नगरेकाले शंका उत्पन्न भएको उनको भनाइ छ । जानकी मन्दिर परिसरभित्र रहेको माता जानकीको जन्मदेखि विवाहसम्मको दृश्य प्रस्तुत गर्ने विद्युतीय संग्रहालय भारत सरकारको आर्थिक सहयोगमा करिब एक दशकअघि निर्माण गरिएको हो।

आधुनिक प्रविधिमार्फत माता सीताको जीवनका विभिन्न प्रसंग प्रस्तुत गरिएको उक्त संग्रहालय जनकपुर आउने पर्यटकका लागि प्रमुख आकर्षणमध्ये एक मानिन्छ । त्यस्तै, हालको विवाह मण्डप वि.सं. २०२६ सालमा बडागुरुजी खगेन्द्रराज पाण्डेको पहलमा निर्माण थालिएको थियो। निर्माण कार्यमा तत्कालीन महन्थ नवलकिशोर दासको महत्वपूर्ण योगदान रहेको उल्लेख गरिन्छ।

निर्माण सम्पन्न भएको १६ वर्षपछि, वि.सं. २०४२ साल पुस १८ गते तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाह देवले विवाह मण्डपको उद्घाटन गरेका थिए । धार्मिक विश्वास अनुसार भगवान राम र माता सीताको विवाह यही स्थानमा सम्पन्न भएको मानिन्छ । यसअघि रहेको पुरानो मण्डप वि.सं. १९९० सालको महाभूकम्पबाट क्षतिग्रस्त भएपछि नयाँ स्वरूपमा प्यागोडा शैलीमा पुनर्निर्माण गरिएको थियो।

मण्डपको गर्भगृहमा भगवान राम, माता सीता, लक्ष्मण, भरत, शत्रुघ्न तथा उनीहरूका धर्मपत्नीहरूको संगमरमरका मूर्तिहरू स्थापना गरिएका छन् । हरेक वर्ष विवाह पञ्चमीका अवसरमा यही विवाह मण्डपमा राम–जानकी विवाह महोत्सवको मुख्य कार्यक्रम आयोजना हुने गर्दछ । सो अवसरमा नेपाल तथा भारतसहित विभिन्न मुलुकबाट लाखौं श्रद्धालु जनकपुरधाम पुग्ने गरेका छन् ।

यस्ता ऐतिहासिक तथा धार्मिक महत्वका संरचनामा पहिलोपटक तालाबन्दी भएपछि यसको प्रभाव धार्मिक पर्यटन र श्रद्धालुको आवागमनमा समेत पर्ने देखिएको छ ।

Comment


Related News

Latest News

Trending News