२०८३ श्रावण १, शुक्रबार ०८:१९

प्रतिष्ठित कम्पनी मार्वलको लोगो र ट्रेडमार्क चोरी गरेको अभियोगमा जानकी प्लाष्टिक उद्योगका सञ्चालक नवल मुरारका भन्ने नवकृष्ण मुरारकालाई विहिवार प्रहरीले पक्राउ गरेको छ ।

असारको पहिलो हप्ता सिरहा जिल्लाको गोलबजारस्थित एउटा हार्डवेयरको पसलबाट प्रहरीले भारी परिमाणमा मार्वल कम्पनीको लोगो र नाम उल्लेख गरिएको प्लाष्टिकको पाइप बरामद गरेको थियो । व्यवसायी समेतलाई पक्राउगरि प्रहरीले अनुसन्धानगर्दा जानकी प्लाष्टिक उद्योगले मार्वलको लोगो र नाम चोरीगरि नक्कली पाइप बनाएको खुलेको थियो ।प्रहरीले धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर ७ भगवतीपुरमा अवस्थित सो उद्योगमा प्रहरीले छापामारी थप पाइप समेत बरामद गरेको थियो ।

मुरारका परिवार नै भारतमा रहेकाले प्रहरी कारवाहीबाट जोगिएका थिए ।स्रोतका अनुसार मुरारकाले काठमाण्डु पुगेर मार्वल कम्पनीको आधिकारिक व्यक्तिहरुसित घटनालाइ मिलाउन छलफल गरेका थिए ।तर सहमति हुन नसकेपछि मार्वल कम्पनीको आग्रहमा प्रहरीले मुरारकालाई पक्राउ गरेको बताइएको छ ।

मध्यान्ह पक्राउ परेका मुरारकालाई सिरहा जिल्ला प्रहरी कार्यालयको भ्यानमा लगिएको थियो ।उनलाई केहि घण्टा वडा प्रहरी कार्यालय मुजेलियामा राखिएको थियो । सिरहा प्रहरीले जनाए अनुसार प्रयाप्त प्रमाणको आधारमा मुरारकालाई धनुषाबाट पक्राउगरि ल्याइएकोछ ।उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी समेत रहेका डीएसपी रमेश बहादुर पालले अनुसन्धानको क्रममा मुरारकालाई बिहिवार नियन्त्रणमा लिएको जनाएका छन् ।

घटनाको अनुसन्धान भइरहेको छ Úडीएसपी पालले भने, पक्राउ परेका व्यवसायीसित सोधपुछ भइरहेको र झण्डै दश जनालाई अनुसन्धानको दायरामा राखिएको छ । प्रहरीका अनुसार मुरारकाले तीन वर्ष बढी देखि मार्वलको नामबाट पाइप बनाउने गरेको खुलेकोछ ।कवाडको प्लाष्टिकबाट पाइप उत्पादन गर्ने मुरारकाले मार्वलको नाममा महँगो दरमा बिक्री गरेको व्यवसायीहरुले बताउने गरेका छन् । सिरहा जिल्लाको गोलबजार नगरपालिकाको वडा नम्बर ४ स्थित नेहाल आइरन स्टोरबाट भारी परिमाणमा मार्वलको नक्कली लोगो र नाम उल्लेख गरिएको प्लाष्टिकको पाइप प्रहरीले बरामद गरेको थियो ।जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष प्रहरी टोलीले नेहाल आइरन स्टोरमा छापामा मारेर भारी परिमाणमा बोरवेल पाइप बरामद गरेको थियो ।

नेहाल आइरनबाट बिभिन्न आकारका बोरवेल पाइप बरामद भएसँगै सञ्चालक साबिर खानलाई समेत नियन्त्रणमा लिएको थियो ।पाइप उत्पादन गर्ने उद्योग लगायत बिक्री बितरण गर्ने बिक्रेताहरुको खोजी र अनुसन्धान गरिरहेको प्रहरीले मुरारकालाई नियन्त्रणमा लिएको छ । मुरारकालाई नियन्त्रणमा लिएपनि जानकी प्लाष्टिक उद्योगको प्रमुख मुरारकाकी श्रीमती अनिता मुरारका रहेको बताइएको छ । जानकी प्लास्टिक उद्योगले मार्वल कम्पनीको नाम र लोगो अंकितगरि पाइप उपलब्ध गराएको व्यवसायीहरुले बताइरहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले सिरहा नगरपालिकाको वडा नम्बर २० लकडीगोठ बस्ने ४५ वर्षीय महम्मद साबिर खानले सञ्चालन गरेको नेहाल आइरन स्टोरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा १ सय १४ एमएम, १ सय १० एमएम र ९० एमएम साइजका गरी ६ सय ३२ थान बोरवेल पाइप बरामद गरिएको थियो । प्रहरीका अनुसार ती पाइपमा मार्वल कम्पनीको नाम र लोगो प्रयोग गरिएको थियो ।

कम्पनीका आधिकारिक प्रतिनिधिले प्रारम्भिक परीक्षणका क्रममा ती पाइप कम्पनीका आधिकारिक उत्पादन नभएको आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा स्टोर सञ्चालक महम्मद साबिर खानले मार्वल कम्पनीको नाम र लोगो प्रयोग गरिएका पाइप बिक्री भएको स्वीकारेपछि अनुसन्धानले तिव्रता पाएको हो । उपभोक्तालाई ठगी गरेको तथा ट्रेडमार्क उल्लंघनसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको हो । मार्वल टेक्नो प्लास्टका मार्केटिङ म्यानेजर सुदीप न्यौपानेले नेहाल आइरन स्टोरले करिब तीन वर्षदेखि कम्पनीको नाम र ब्रान्डिङ दुरुपयोग गर्दै आफ्ना उत्पादनको नाममा पाइप बिक्री गर्दै आएको आरोप लगाएका छन् ।

बजार अनुगमनका क्रममा मधेश प्रदेशमा उपभोक्ताले आफूहरूले मार्वल ब्रान्डकै पाइप प्रयोग गरिरहेको बताएपछि कम्पनीले आफ्नो बिक्री अभिलेखसँग तुलना गरेको थियो । त्यस क्रममा उक्त क्षेत्रमा कम्पनीबाट कुनै आधिकारिक आपूर्ति नभएको देखिएपछि थप अनुसन्धान गरिएको र कम्पनीकै नाम तथा लोगो प्रयोग गरिएका पाइप बिक्री भइरहेको फेला परेको न्यौपानेले दाबी गरेकाछन् । यसअघि पनि सम्बन्धित व्यवसायीलाई यस्तो गतिविधि नगर्न मौखिक रूपमा सचेत गराइएको बताउँदै उनले भने, तर पुनः उही कार्य दोहोरिएको पाइएपछि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।

नक्कली ब्रान्डिङ प्रयोग गरिएका उत्पादनको कारोबारले कम्पनीको प्रतिष्ठा, उपभोक्ताको विश्वास तथा सुरक्षामा समेत असर पुग्ने उनको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News