वीरगन्ज महानगरपालिका क्षेत्रको मुख्य सडक विस्तार हाल रथ यात्राको दृष्टिगत गर्दै केही दिनका लागि रोकिएको छ ।
सडक डिभिजन हेटौँडाका इन्जिनियर तथा वीरगन्जका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादका अनुसार बुधबार दिउँसो २ बजेसम्म मकालु होटलदेखि विर्ता मन्दिरबीचको क्षेत्रका केही अग्ला घर भत्काइएको छ र हाल केही दिनका लागि रथयात्राको दृष्टिगत गर्दै रोकिएको छ । बुधवार नाला र फुटपाथको सरसफाईको प्राथमिकता दिइएको र त्यस काममा कार्यालयका २/३ वटा उकपरण निरन्तर परिचालन भई रहेको उनले बताए । बिहीबारदेखि केही दिनका लागि सडक विस्तार रोकिएको प्रसादले जानकारी दिए ।
‘बिहीबार वीरगन्जमा गहवामाईको रथ यात्रा छ । यस्तै, हाम्रा अधिकांश कर्मचारी निरन्तरको काम र गर्मी र धपेडीका कारण बिरामी परेका छन्,’ उनले भने, ‘अब साउनको २ वा ३ गतेबाट पुनः काममा फर्किन्छौं ।’ गत ६ र ७ वैशाखमा सडक विभागले पहिलो चरणमा मुख्य सडक क्षेत्रका करिब १२०० घर तथा भवनमा डोजर चलाएको थियो । त्यसक्रममा अधिकांश संरचनाको अगाडिको भाग भत्काइएको थियो भने सडक सीमा क्षेत्रमा परेका संरचना २५ दिनभित्र आफैं हटाउन सम्बन्धितलाई आग्रह गरिएको थियो ।
तर समयसीमा सकिँदा समेत धेरै संरचना यथावत् रहेपछि विभागले डेढ साताअघि दोस्रो चरणको अभियान अघि बढाएको हो ।यस अवधिमा कार्यालयले उत्तर गण्डक र दक्षिण मितेरी पुल तर्फबाट गरी करीब १२५ भवन तथा संरचाना भत्काएको छ । अहिले त्रिभुवन राजपथको पूर्वतर्फको संरचना मात्रै भत्काइँदै छ । पश्चिमतर्फ हालसम्म डोजर चलाइएको छैन ।

