नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा अराजकता फैलाउने र कानुनी राज्यको उल्लंघन गर्ने कामको नेतृत्व स्वयं सरकारले गरिरहेको आरोप लगाउनुभएको छ ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा पार्टीको नयाँ वेबसाइट तथा एप नवीन संस्करण सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले सरकारको आलोचना गर्ने वा विरोधमा उत्रिने युवाहरूलाई धम्की र त्रास देखाउने गरिएको भन्दै ओलीले समाजमा अराजकता फैलाउने र कानुनी राज्यको उल्लंघन गर्ने कामको नेतृत्व स्वयं सरकारले गरिरहेको आरोप लगाउनुभएको हो ।
अध्यक्ष ओलीले सरकारले विरोध दबाउनका लागि घर, कार्यालय र सञ्चार माध्यमका कार्यालय अगाडि गाडी तेस्र्याएर अवरोध सिर्जना गर्ने गरेको दावी गर्नुभयो ।
उहाले शान्तिपूर्ण रूपमा असहमति राख्न वा विरोध जनाउन पाउने नागरिक अधिकारमाथि रोक लगाएको समेत बताउनुभयो । तानाशाही र फासीवादीबाटो तर्फ सरकार अघि बढ्न खोजेको उहाको भनाइ छ ।
अध्यक्ष ओलीले संसद् र राज्यका तीनवटै अङ्गहरू हाल कार्यकारीको इच्छा अनुसार चल्न बाध्य पारिएको तर्क गर्दैै बजेट जस्तो महत्वपूर्ण विषयमा समेत मात्र चार घण्टा छलफल गराएर पास गरिनु यसैको उदाहरण भएको धारणा राख्नुभयो ।
अध्यक्ष ओलीले एमाले कुनै अरूको सहारामा मात्र उभिने ‘लहरो’ नभई आफ्नै बलमा उम्रेको, हुर्केको र अनेकौँ आँधीहुरी, तुफान तथा बाढीको सामना गरेर दह्रो बनेको एक स्वतन्त्र वृक्ष भएको बताउनुभयो ।
एमालेको आफ्नै स्वतन्त्र हैसियत रहेकाले जस्तोसुकै परिस्थितिको सामना गर्दै त्यसलाई पराजित गर्ने सामथ्र्य राख्ने उल्लेख गर्नुभयो ।

