मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य शिक्षाको उच्च अध्ययन पूरा गरेका शिक्षार्थीहरूलाई दीक्षित गर्दै आफ्नो प्रथम दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ ।
चिकित्सा तथा स्वास्थ्य शिक्षातर्फ अध्ययन सम्पन्न गरेका विद्यार्थीहरूलाई शैक्षिक उपाधिसहित दीक्षान्त गरिएको छ । समारोहमा प्रतिष्ठानका कुलपति तथा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव र सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र साह विशेष अतिथिका रूपमा सहभागी भइ दीक्षित विद्यार्थीहरूलाई शैक्षिक प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए ।
प्रतिष्ठानका रेक्टर डा. रामनरेश पण्डितले जनाए अनुसार बीएससी नर्सिङतर्फ स्मृति ढकाल, बीपीएचतर्फ मोहम्मद बदरे आलम, एमडी -गाइनाकोलोजी) तर्फ जितेन्द्र कुमार साह तथा बीएनएस -ब्याचलर अफ नर्सिङ साइन्स) तर्फ ४० जनासहित कुल ४३ जना विद्यार्थीलाई शैक्षिक उपाधिसहित दीक्षान्त गरिएको छ । बीएनएसतर्फ तीनवटै ब्याचका विद्यार्थीहरूलाई दीक्षान्त गरिएको छ । पहिलो ब्याचका १३, दोस्रो ब्याचका १२ र तेस्रो ब्याचका १५ जना उत्तीर्ण विद्यार्थी दीक्षित भएका छन् ।
समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई स्वर्ण पदकबाट समेत सम्मान गरिएको थियो । एमडीतर्फ जितेन्द्र साह, बीएनएसतर्फ बिबिका खड्का, जेनिसा लामा र जोकिया शर्मा, बीपीएचतर्फ मोहम्मद बदरे आलम तथा बीएससी नर्सिङतर्फ स्मृति ढकाल स्वर्ण पदकबाट विभूषित भएका छन् । त्यसैगरी आयुषी राजभण्डारी र आनन्द कृष्ण राजभण्डारीलाई पनि स्वर्ण पदकबाट सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रतिष्ठानले चिकित्सा शिक्षातर्फ आफ्नो पहिलो ब्याचलाई दीक्षान्त गर्न सफल हुनु समग्र मधेश प्रदेशकै लागि गौरवको विषय भएको बताए ।उनले विगतमा डाक्टरी अध्ययनका लागि काठमाण्डु वा विदेश जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अब आफ्नै प्रदेशमा अत्यन्तै न्यून शुल्कमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर प्राप्त हुनु प्रदेशवासीका लागि ठूलो उपलब्धि भएको बताए । मु
ख्यमन्त्री यादवले प्रतिष्ठानले सञ्चालन गरिरहेको चिकित्सा शिक्षाको पूर्वाधार विकास तथा अन्य शैक्षिक सेवाको विस्तारमा प्रदेश सरकारले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग गर्न प्रदेश सरकार कहिल्यै पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे ।

