२०८३ श्रावण २, शनिबार ०६:४६

मिटरब्याजको आरोपमा पक्राउ परेका व्यक्तिहरूमाथि कडा कानुनी कारबाहीको माग गर्दै धनुषाका मिटरब्याज पीडितहरूले शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला अदालत धनुषा अगाडि प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले बिहीबार पक्राउ परेका जनकपुरधाम–१६ कपिलेश्वर निवासी गोपाल साह, हरेराम साह र रेखा साहलाई कानुनअनुसार कडा सजाय हुनुपर्ने माग राख्दै जिल्लाभरका पीडितहरू एकजुट भएर विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले ‘हामीलाई न्याय देऊ ; ‘हाम्रो न्याय सुनिश्चित गर; लगायतका नाराले लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गर्नुका साथै ‘पीडकलाई कडा कारबाही गर; ‘आरोपितलाई नछाड ; ‘हामीलाई न्याय चाहिन्छ;  जस्ता नाराबाजी पनि गरेका थिए। प्रहरीले एक पीडितको जाहेरीका आधारमा बिहीबार मिटरब्याजको आरोप लागेका तीन जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेका तीनै जना एउटै परिवारका सदस्य हुन्। प्रहरीका अनुसार हरेराम साह छोरा, रेखा साह उनकी आमा तथा गोपाल साह काका हुन्। पक्राउसँगै प्रहरीले उनीहरूको घरमा खानतलासी गरी विभिन्न तमसुक तथा अन्य महत्वपूर्ण कागजातसमेत बरामद गरेको जनाएको छ। प्रहरी स्रोतका अनुसार हरेराम साहलाई काठमाडौंबाट पक्राउ गरिएको हो भने उनकी आमा रेखा साहलाई भारततर्फ भाग्ने क्रममा जटही नाकाबाट नियन्त्रणमा लिइएको थियो। त्यस्तै गोपाल साहलाई जनकपुरधामस्थित पिडारी चोकको जानकी वाटिका होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनाका अर्का आरोपित बलराम साह भने हालसम्म फरार रहेका छन्।

प्रदर्शनमा सहभागी पीडितहरूले साह परिवारले धेरै व्यक्तिको सम्पत्ति बेइमानीपूर्वक आफ्नो नियन्त्रणमा लिएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा ऋण लिएको सम्पूर्ण रकम फिर्ता गरिसकेपछि पनि तमसुक र धितो राखिएको जग्गा फिर्ता नदिइएको छ। प्रदर्शनमा सहभागी पीडित फुलकुमारी साहले यसअघि पनि गोपाल साह पक्राउ परे पनि प्रभाव र पहुँचका कारण कारबाहीबाट उम्किएको दाबी गरिन्। उनले भनिन्, æयसअघि जिल्ला अदालतमा सेटिङका कारण कारबाही हुन सकेन।

यस पटक पनि त्यस्तो चलखेल नहोस् र निष्पक्ष न्याय सुनिश्चित होस् भन्ने उद्देश्यले अदालत र प्रहरीलाई दबाब दिन हामी प्रदर्शनमा उत्रिएका हौं।æ धनुषाका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध अनुचित लेनदेन सम्बन्धी मुद्दा दर्ता गरी म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ। उनले हरेराम साहको कार्यालयमा समेत प्रहरीले छापामारी गरेको पुष्टि गर्दै अनुसन्धानका कारण त्यससम्बन्धी थप विवरण सार्वजनिक गर्न नमिल्ने बताए। पीडितहरूको आरोपअनुसार साह परिवारले विभिन्न कृषि फार्म सञ्चालन गर्दै सरकारी अनुदान लिने, त्यसको दुरुपयोग गर्दै चर्को ब्याजमा ऋण प्रवाह गर्ने र जग्गा रजिस्ट्रेशन पास गराएर ऋण दिएपछि ऋणीले रकम चुक्ता गरिसक्दा पनि जग्गा फिर्ता नगर्ने कार्य गर्दै आएको छ।

मिटरब्याज पीडित संघर्ष समितिले साह परिवार लामो समयदेखि यस्तै गतिविधिमा संलग्न रहँदै आएको दाबी गर्दै पीडितहरूको सम्पत्ति फिर्ता गरि नुका साथै दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग गरेको छ।

Comment


Related News

Latest News

Trending News