नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्छ भन्ने मुख्य मागसहित युवाहरु सडक आन्दोलनमा उत्रिएका छन् ।
समृद्ध नेपालको आधारका लागि आगामी २०८७ सालभित्रै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने भन्दै युवाहरुको एक समूहले शनिबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदेशहरुको खारेज गरि स्थानीय तहलाई बलियो बनाउनुपर्ने, १० सदस्यीय मन्त्रिपरिषद् बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यलाई पूर्ण रुपमा राज्यको स्वामित्वमा राख्नुपर्ने माग राखेका छन् भने नेपालमा भएका सबै बैंकहरूको पूर्ण रूपमा राष्ट्रियकरण गरिनुपर्ने, समाजमा घट्ने अपराधहरू र अपराध अनुसन्धानका प्रक्रियाहरूलाई ध्यानमा राख्दै अपराधीहरूका लागि कडा भन्दा कडा सजायको कानुनी व्यवस्था हुनुपर्ने माग समेत राखेका छन् । सुकुम्बासी, भूमिहीन किसान र जग्गाको टुक्रा समेत नभएका देशका वास्तविक नागरिकहरूको समस्या सधैंका लागि उन्मूलन गर्न वैज्ञानिक भूमि सुधार ऐन ल्याउनुपर्ने पनि आफुहरुको माग रहेको सडक आन्दोलन उत्रिएका युवा अर्जुन विश्वकर्माले बताउनुभयो ।
साथै उनीहरुले हाल अध्यापन गराइँदै आएका शैक्षिक पाठ्यक्रमहरूको पुनर्लेखन गरी सिप र प्रविधिमा आधारित व्यावहारिक पाठ्यक्रम निर्माण गरिनुपर्नेमा समेत जोड दिएका छन् ।

