जनकपुरधाममा गुडिरहेको महोत्तरीको बिजलपुरा–जनकपुरधाम–जयनगर रेल्वेमा कार्गो नहुँदा घाटामा छ ।
यहाँका व्यवसायी तथा नेपाल रेलले पनि कयौँ पटक कार्गोको माग गर्दै आएका छन् । तर कार्गो व्यवस्थापन नहुँदा नेपाल रेल घाटामा नै छ । तर यसैबीच उद्घाटन भएको दुई वर्षपछि रेल मार्गमार्फत भारतसहित तेश्रो मुलुकबाट आयात हुने ब्लक कार्गो बिराटनगरस्थित एकीकृत जाँचविन्दु- आईसीपी) सम्म शुरु भएको छ ।
उद्घाटनको क्रममा फलाम उद्योगको कच्चा पदार्थ बोकेको कार्गो रेल विराटनगरको आइसिपीमा आएको थियो । त्यसपछि यो रेलमार्ग सुनसरी मोरङ औधोगिक क्षेत्रका उद्योगी व्यवसायिका लागि बेकामे बनेको थियो । उद्घाटनको क्रममा तत्कालीन वाणिज्य मन्त्री रमेश रिजालले भारतका समकक्षी पीयूष गोयलसितको सहमतिमा नयाँ पारवहन सन्धि गरेका थिए । सो सन्धीमा तेस्रो मुलुकबाट विराटनगर आइसीपीको रेल वे यार्ड -नेपाल कस्टम यार्ड अर्थात् एनसीवाई) सम्म तेस्रो मुलुकबाट सिमेन्ट, क्लिंकर, रासायनिक मल र कोइला गरी चार वस्तु मात्र ल्याउन सकिने उल्लेख गरिदा यो रेलमार्ग प्रयोगविहिन बनेको थियो ।
सुशीला कार्की नेतृत्ववको अन्तरिम सरकारका तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा गत कार्तिकमा भारत भ्रमणमा गएका बेला पारवहन सन्धीको प्रोटोकलमा संशोधन गर्ने गरी लेटर अफ एक्स्चेन्ज -एलओई) भएपछि मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै विराटनगरको आइसिपीसम्म तेस्रो मुलुकबाट सबै प्रकारका रेलकार्गो ढुवानी गर्न सकिने जनाएको थियो । सोही अनुसार शुक्रवारदेखि भारतको कोलकाता बन्दरगाहबाट विराटनगरसम्म पहिलोपटक औपचारिक रूपमा कार्गो रेल सेवा सञ्चालनमा आएको छ ।
नेपाल–भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामान अब भारतीय रेलमार्फत सिधै विराटनगर भन्सारसम्म ल्याउन सकिने व्यवस्था कार्यान्वयनमा आएसँगै कार्गो रेल सेवा शुरु भएको जनाइएको छ । कोलकाता बन्दरगाहबाट पहिलो रेल ¥याकमार्फत स्वस्तिक आयल इन्डस्ट्रिजको कच्चा पदार्थ बोकेको कार्गो रेल विराटनगरको आइसिपी आउन लागेको छ । कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड -कोनकोर) का अधिकारीहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर कार्गो रेल ढुवानीको सुरुवात गरेका थिए । रेलमा तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेका ४० वटा ४० फिट क्षमताका कन्टेनर रहेको बताइन्छ ।
सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट् र्याकिङ सिस्टम -ईसीटीएस) जडान गरिएको छ, जसले ढुवानीको सुरक्षा र पारदर्शीता सुनिश्चित गर्नेछ । कार्गो रेल सेवा सुचारु भएको जनाउदै विराटनगर भन्सार कार्यालयले कोलकोताबाट विराटनगर आइसिपीका लागि औधोगिक कच्चा पदार्थ बोकेर हिँडेको कार्गो रेल आइतवारसम्ममा विराटनगर आइपुग्ने बताइएको छ । २०८० जेठ तेस्रोसाता तत्कालीन प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको उद्घाटन गरेको दिन एउटा कार्गो रेल आएको थियो । सो सेवा नेपाल–भारत पारवहन सम्झौता अन्तर्गत भारत सरकारले गरेको नीतिगत संशोधनको कार्यान्वयन हो । भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड -सीबीआईसी)ले ४ नोभेम्बर २०२५ मा ईसीटीएस नियमावली संशोधन गर्दै कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट रेलमार्फत विराटनगरसम्म कार्गो ढुवानी गर्न अनुमति दिएको थियो ।
कोलकाता भन्सारले २६ फेब्रुअरी २०२६ मा कोलकाता र हल्दियाबाट जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगर भन्सारसम्म रेलमार्फत मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएपछि शुक्रवारदेखि यो कार्गो रेल सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । पूर्ण रूपमा सञ्चालनमा आएपछि एकैपटक ४५ वटासम्म ४० फिट क्षमताका कन्टेनर रेलमार्फत सिधै विराटनगर ल्याउन सकिने बताइन्छ । यसअघि यस्तो सुविधा वीरगञ्जसम्म मात्र सीमित थियो ।
कोलकातास्थित नेपाली महावाणिज्यदूतावासका अनुसार रेलमार्फत ढुवानी गर्दा सडक मार्गको तुलनामा लागत कम, सुरक्षा बढी र ढुवानी अवधि करिब २४ घण्टामै सीमित हुने भएकाले आयात प्रक्रिया थप सहज हुनेछ । कार्गो रेल सेवा सञ्चालन भएपछि बन्दरगाहमा कन्टेनर रोकिँदा लाग्ने डिटेन्सन शुल्क, बिलम्ब शुल्क तथा सडक ढुवानीको अतिरिक्त खर्च घट्ने जनाइएको छ ।
व्यापार पारवहन लागत कम भइ नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि हुनुका साथै पूर्वी नेपालको औद्योगिक तथा व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बताए ।

