२०८३ श्रावण ४, सोमबार ०५:३३

नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी शक्ति संघर्ष निर्णायक मोडतर्फ उन्मुख भएको छ ।

कांग्रेस संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच लामो समयदेखि संवाद नहुँदा नयाँ पार्टीको आन्तरिक तयारीमा जोडतोडका साथ अघि बढेको बताइन्छ । छिट्टै नै नयाँ पार्टी घोषणा गरिने भएको जनाइएको छ । यस क्रममा संस्थापन इतर पक्षले साउन अन्तिमतिर राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरी भावी राजनीतिक रणनीति तय गर्ने तयारी थालेको बताइएको छ । इतर पक्षका नेताहरूले पछिल्ला छलफलमा वर्तमान नेतृत्वसंग सहकार्यको सम्भावना अत्यन्त न्यून रहेको निष्कर्ष निकालेका छन् । उनीहरूले जनाए अनुसार अब कुनै असाधारण राजनीतिक पहल नभएसम्म पार्टीभित्रको विवाद समाधान हुने अवस्था देखिएको छैन ।

यही निष्कर्षका आधारमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय भएको र उक्त भेलाले भावी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ । इतर पक्षबाट निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. शशांक कोइराला, पूर्वसहमहामन्त्रीहरू डा. प्रकाशशरण महत, बद्री पाण्डे, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्यायलगायत नेताहरु गृहकार्यमा जुटेका छन् । पार्टीभित्र बढ्दो ध्रुवीकरणबीच इतर पक्षले ६ साउनमा जननायक बीपी कोइरालाको स्मृति दिवस देशव्यापी रूपमा छुट्टै मनाउने घोषणा यस अघि नै गरिसकेको छ ।

सोही अवसरमा राष्ट्रिय कार्यकर्ता भेलाको मिति सार्वजनिक गर्ने तयारी पनि गरिएको छ । सो भेलाले नेतृत्व, राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना र आगामी रणनीतिबारे निर्णय गर्ने नेताहरू बताउँदै आएका छन् । इतर पक्षका केही नेताहरूले राष्ट्रिय भेलाबाट छुट्टै महाधिवेशन वा नयाँ राजनीतिक संरचनातर्फ अघि बढ्ने सम्भावनासमेत खुला राखिएको बताएका छन् । उनीहरूले लामो समयसम्म एकताका लागि लचकता देखाउँदा पनि संस्थापन पक्षबाट कुनै ठोस पहल नभएकाले अब नयाँ विकल्पबारे निर्णय गर्नुपर्ने अवस्था आएको दाबी गरेका छन् । यता संस्थापन पक्ष भने पूर्वनिर्धारित कार्यतालिका अनुसार १५औँ महाधिवेशनको तयारीमा केन्द्रित छ ।

असोज १६ देखि १९ सम्म महाधिवेशन गर्ने निर्णय गरिसकेको नेतृत्वले सदस्यता अद्यावधिक तथा वडा अधिवेशनका कार्यक्रमलाई अघि बढाइरहेको छ । संस्थापन पक्षले विधान अनुसार सदस्यता अद्यावधिक अनिवार्य रहेको अडान कायमै राखेको छ । यही विषय अहिले दुई पक्षबीचको सबैभन्दा ठूलो विवाद बनेको छ । इतर पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई विनाशर्त समायोजन गर्नुपर्ने र यसअघि नै नवीकरण भइसकेको क्रियाशील सदस्यता पुनः अद्यावधिक गर्न नपर्ने माग गर्दै आएको छ । तर संस्थापनले विधानभन्दा बाहिर गएर कुनै निर्णय गर्न नसकिने स्पष्ट पारेको छ । सभापति गगनकुमार थापाले देउवा र शेखर कोइराला समूहका केही नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि विवाद थप गहिरिएको छ ।

संस्थापन पक्षले यसलाई समन्वयको प्रयासका रूपमा व्याख्या गरे पनि इतर पक्षले यसबाट मूल समस्या समाधान नहुने प्रतिक्रिया दिएको छ । संस्थापन पक्षका नेताहरू भने संवादका ढोका बन्द नभएको दाबी गर्दै आएका छन् । उनीहरूका अनुसार विधान अनुसार सम्भव हुने सबै विषयमा छलफल गर्न सकिने भए पनि पार्टीको विधान विपरीतका माग स्वीकार गर्न नसकिने स्पष्ट अडान रहेको छ । नेतृत्वले एकता चाहने हो भने अझै पनि सहमतिको आधार खोज्न सकिनेसमेत बताउँदै आएका छन् ।

तथापि व्यवहारमा भने दुई पक्षबीच लामो समयदेखि औपचारिक रुपमा संवाद हुन सकेको छैन । केही समय अघि इतर पक्षले पार्टी एकताका लागि विभिन्न प्रस्ताव पठाए पनि त्यसबारे औपचारिक निर्णय वा जवाफ नआएको गुनासो उनीहरूको छ । यसले अविश्वासको दूरी झन् बढाएको नेताहरू बताउँछन् । यसैबीच नेता डा. शेखर कोइराला भने सार्वजनिक रूपमा कुनै पक्षमा उभिनुभन्दा पनि परिस्थिति नियाल्ने रणनीतिमा देखिएका छन् । उनीनिकट नेताहरूले जनाए अनुसार पार्टी एकताको पक्षमा रहे पनि नेतृत्वबाट आवश्यक पहल नभए विभाजन रोक्न कठिन हुने उनको बुझाइ छ । पार्टी विभाजन भए आफू कुनै सक्रिय ध्रुवीकरणमा नलाग्ने संकेत उनले निकटस्थहरूमाझ दिन थालेका छन् । साउन ६ गते पर्ने बीपी स्मृति दिवसले पनि कांग्रेसभित्रको विभाजनलाई थप स्पष्ट बनाउने देखिएको छ ।

संस्थापन पक्षले देशभर …जरा अभियानÚ समापन कार्यक्रम गर्ने तयारी गरेको छ भने इतर पक्षले १६५ निर्वाचन क्षेत्रमा समानान्तर कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ । काठमाण्डुस्थित प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा ठूलो संख्यामा युवा कार्यकर्ता सहभागी गराएर शक्ति प्रदर्शन गर्ने तयारी पनि इतर पक्षले थालेको स्रोतहरूको भनाइ छ । शनिबार देउवा पक्षको बसेको बैठकमा तीन विषयमा छलफल भएको नेता मीनबहादुर विश्वकर्माले बताए । उनका अनुसार बिपी स्मृति दिवसको तयारी, पार्टी एकताको लागि गठित समिति र सुदृढीकरणबारे र आगामी रणनीतिबारे छलफल भएको थियो ।

पार्टी एकताको सम्भावना सकिएको निष्कर्षसहित राष्ट्रिय भेला बोलाउने बैठकले निर्णय गरेको बताए। साउन २४ देखि २९ को बीचमा भेला राख्ने तयारी भएको जानकारी गराए ।

Comment


Related News

Latest News

Trending News