प्रेमिकासंग विवाह गर्न नपाएको झोँकमा एक प्रेमीले टावरमा चढेर विवाह गराइ दिनका लागि माग गरेका छन् ।
आफूले इच्छाइएको केटीसंग विवाह गर्न नपाएको भन्दै टेलिकमको ८० मिटर अग्लो टावरमा चढेर परिवारका सदस्यलाई अत्याएका सर्लाहीका युवकलाई प्रहरीले अस्पताल लगेको छ । आइतबार बिहान मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकलाई परिवार सदस्य र सुरक्षाकर्मीको समन्वयमा सकुशल उद्धार गरेर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गोडैता नगरपालिका–९ स्थित बकैनियाका २४ वर्षीय अफसर आलम हुसेनलाई फकाइफुल्याई टावरबाट तल झारेर प्रहरीको गाडीमा प्रादेशिक अस्पताल मलंगवा लगिएको प्रहरी निरीक्षक गणेश पाण्डेले जाकारी दिए ।
‘आफूसंगै पढ्ने एउटी यवतीसंग विवाह गर्न नपाएको विरोधमा उनी टावरमा चढेका रहेछन्,’ इन्सपेक्टर पाण्डेले अघि थप्दैँ भने,’अभिभावकले ती युवतीसँग विवाहको अनुमति नदिएपछि दबाब सिर्जना गर्न आइतबार बिहान उज्यालो नहुँदै उनी टावरमा चढेका रहेछन् । परिवारका सदस्य र हामीले अहिलेलाई फकाइफुल्याइ गरेर उनलाई टावरबाट तल झारेका अस्पताल पठाएका छौँ ।’ हुसेन सर्लाही क्याम्पस मलंगवामा स्नातक तह अध्ययनरत छन् । टावरको माथि पुगेपछि उनले आफ्ना एक साथीलाई फोन गरी आफू टावर माथि रहेको जानकारी दिएका थिए । त्यसपछि घटनाबारे सुरक्षा निकायलाई खबर पुगेको इन्सपेक्टर पाण्डेले बताए ।
टेलिफोनमा हुसेनले आफ्नी प्रेमिकालाई आफू भएको ठाउँमा बोलाइदिनुपर्ने र उनीसँग विवाह गर्न अभिभावकले अनुमति दिनुपर्ने माग गरेका थिए । यदि आफ्नाप्रति वेवास्ता गरिए टावरबाटै हामफाल्ने चेतावनीसमेत उनले दिएका थिए । त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली उनको उद्धारका लागि टावरको तल पुगेको थियो । तल झर्न आग्रह गर्दा नमानेपछि प्रहरीले उनका बुवा र दाजुलाई घटनास्थलमा बोलाएको थियो । त्यसपछि टेलिफोनमार्फत संवाद गराइएपछि उनले अभिभावकसंग कुरा गरेका थिए । बुवा र दाजुले माग पूरा गराइदिने आश्वासन दिएपछि उनी सुरक्षित रूपमा टावरबाट तल ओर्लिएका प्रहरीले जनाएको छ ।
उद्धारपछि उनलाई प्रहरीले अस्पताल भर्ना गराइएको छ भने सो घटनाबारे थप अनुसन्धान अघि बढाएको सर्लाही प्रहरीले जनाएको छ ।

